२०८१ कार्तिक ३०, शुक्रवार , ०९:०४:३५ बजे

Sajhamanch
'

कृषि उपजको उत्पादनप्रति किसानहरू आकर्षित गर्न एनएमसीको यस्तो छ अवधारणा

मङ्गलवार, असार ४, २०८१

१. प्रस्तावना :
हाम्रो देश कृषिप्रधान देश हो । कूल जनसंख्याको ५० दशमलव १० प्रतिशत जनसंख्या कृषिमा आधारित छन् । त्यसमा पनि झापा जिल्ला कृषि उत्पादनका हिसाबले अत्यन्त उर्वर जिल्ला हो । झापा विशेषगरी धान, गहुँ, तेलहन (तोरी, आलस, तिल, सरसौं आदि), फापर, कोदोजस्ता कृषिउपजका लागि अग्रणी जिल्ला मानिन्छ । सिजनमा कृषकले उत्पादन गरेका कृषि उपजको राज्यको तर्फबाट भण्डारणको व्यवस्था नहुँदा सस्तो मूल्यमा बिक्री गर्न किसानहरू बाध्य हुन्छन् । जसको कारण आफ्नो उत्पादनको उचित लागत नपाएकाले कृषि उपजको उत्पादनप्रति किसानहरू निरुत्साहित बन्ने गरेका छन् । तसर्थ मौसमी समयमा किसानले उत्पादन गरेका कृषि उपजलाई उचित भण्डारणको व्यवस्थासहित बेमौसमी समयमा किसानलाई उचित मूल्यको प्रतिफल दिलाउन राज्य र सहकारी क्षेत्रको सहभागितामा गोदाम घर (वेयर हाउस) निर्माणतर्फ राज्यका विभिन्न निकायको ध्यानाकर्षण गराउन यो अवधारणा पत्र तयार गरिएको छ ।

२. परियोजनाको नाम : गोदाम घर (वेयर हाउस) निर्माण ।

३. परियोजनाको मुख्य उद्देश्य :

यस परियोजनाका मुख्य उद्देश्यहरू निम्न अनुसार रहेका छन् ।
३.१ किसानद्वारा उत्पादित कृषि उपजको भण्डारणका लागि सुविधा उपलब्ध गराउने,
३.२ कृषि क्षेत्रमा कार्यरत किसानहरूलाई टिकाइराख्न र व्यावसायिक कृषि उत्पादनका लागि थप जनसंख्यालाई कृषि क्षेत्रमा आकर्षित गर्ने,
३.३ कृषिजन्य कच्चा पदार्थमा आधारित स्थानीय तथा घरेलु उद्योगहरू (कुटानी पिसानी, तेल बनाउने आदि)लाई नियमित रूपमा स्थानीय कच्चा पदार्थ (धान, मकै, गहुँ, फापर, कोदो, जौ, तोरी, आलस आदि) उपलब्ध गराउने ।
३.४ कृषि क्षेत्रमा थप रोजगारी सिर्जना गर्ने,
३.५ स्थानीय साना तथा घरेलु उद्योगहरूलाई वर्षैभर चलायमान गराई राख्ने,
३.६ स्थानीय आर्थिक क्रियाकलाप, आय वृद्धि तथा राजस्व वृद्धिमा सहयोग पुर्याउने, आदि ।

४. परियोजनाका लागि आवश्यक पूर्वाधार :
४.१ आवश्यक जग्गा करिब २ बिगाहा ।
४.२ सम्भाव्य स्थान झापा जिल्लाभित्रको विकासका पूर्वाधार सडक, बिजुली, सञ्चार, खानेपानी आदिको सहज उपलब्धता भएको स्थान ।
४.३ भौतिक संरचना भण्डारणका लागि प्रति गोदाम न्यूनतम ३ हजार मेट्रिक टन क्षमताका ५ वटा सुविधा सम्पन्न गोदाम, आवश्यकता अनुसारको प्रशासनिक भवन निर्माण र घेराबारा ।
४.४ यन्त्र उपकरण धर्मकाँटा, ग्रेडिङ मेसिन, ड्रायर मेसिन, ट्रयाक्टर, मिनी ट्रक, आदि ।

५. परियोजना अन्तर्गत गरिने कार्यहरू :
५.१ आफ्नो कृषि उपज उत्पादन भएकै समय बिक्री गर्न चाहने किसानहरूबाट कृषि उपज खरिद गरी भण्डारण ।
५.२ निर्धारित शुल्क तिरेर आफ्ना कृषि उपजको भण्डारण गर्न चाहने किसानबाट शुल्क लिई कृषि उपजको भण्डारण ।
५.३ कृषिउपज भण्डारण गर्ने किसानहरूले आफ्नो कृषि उपजलाई धितो मानी कर्जा लिन चाहेमा सहुलियत ब्याजदरमा कर्जा सुविधा दिइने, आदि ।

६. परियोजनाका लागि लगानी सम्बन्धी अनुमान :
६.१ परियोजना स्थापना तथा निर्माणका लागि न्यूनतम रु. ३० करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
६.२ परियोजना सञ्चालनका लागि आवश्यक चालू पूँजीको हकमा अनुदानभन्दा सहुलियत दरमा कर्जा उपलब्ध हुनु उपयुक्त हुने ।

७. लगानी सम्बन्धी मोडालिटी :
७.१ परियोजनाका लागि आवश्यक रकम लागत सहभागिताका आधारमा जुटाइने छ ।
७.२ लागत सहभागिता अन्तर्गत राज्यको लागत सहभागिता ८० प्रतिशत र सहकारी संस्थाको लागत सहभागिता २० प्रतिशत रहने छ ।

८. लगानी साझेदार :
लगानी साझेदारको रूपमा नेपाल सरकार र नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP रहने छन् ।

९. परियोजना सञ्चालन सम्बन्धी मोडालिटी :
९.१ परियोजना सञ्चालनका लागि सहकारी संस्था अन्तर्गत छुट्टै समिति निर्माण गरिने छ ।
९.२ समितिमा स्थानीय पालिकाका जनप्रतिनिधि, नेपाल सरकारले तोकेको सम्बन्धित कार्यालयका प्रतिनिधि, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले तोकेका प्रतिनिधि र किसान प्रतिनिधिको सहभागिता रहने छ ।
९.३ शुल्क निर्धारण सम्बन्धमा समितिको मुख्य भूमिका रहने छ ।
९.४ शुल्क निर्धारण गर्दा बजारको चलनचल्ती मूल्यभन्दा सहुलियत दरमा निर्धारण गर्नु पर्नेछ ।
९.५ परियोजना सञ्चालन सम्बन्धी सम्पूर्ण जवाफदेहिता नेपाल बहुउद्देश्यीय सहकारी संस्थामा निहित रहने छ ।
९.६ परियोजना अन्तर्गत निर्मित, सिर्जित तथा जडित सम्पत्ति सामान नेपाल सरकारको स्वीकृति बिना बेचबिखन तथा स्वामित्व हस्तान्तरण गर्न पाइने छैन ।

१०. अपेक्षित उपलब्धी :
१०.१ स्थानीय किसानले आफ्ना उत्पादन सहजै बिक्री गर्न सक्ने,
१०.२ मूल्यमा चित्त नबुझेमा वेयर हाउसमा भण्डारण गरेर सहुलियतमा कर्जा लिन सक्ने,
१०.३ मूल्यमा चित्त बुझेको अवस्थामा बिक्री गर्न सकिने सुविधा हुने,
१०.४ साना तथा घरेलु उद्योगले निरन्तर स्वदेशी कच्चा पदार्थ प्राप्त गर्न सक्ने,
१०.५ साना उद्योग निरन्तर सञ्चालनमा आउँदा स्थानीय उपभोक्ताले रोजेको र खोजेकोजस्तो गुणस्तरीय खाद्य सामग्री (चामल, तेल, पीठो) प्राप्त गर्न सक्ने,
१०.६ पशुपन्छीका लागि चाहिने दाना उद्योगको कच्चा पदार्थ सजिलै र एकै स्थानमा प्राप्त हुने,
१०.७ सानासाना दाना उद्योगको विस्तार हुने,
१०.८ किसानले गरेको उत्पादन बिक्री एवम् भण्डारण गर्न सजिलो भएपछि किसान उत्पादनका लागि उत्साहित हुने,
१०.९ साना उद्योगहरु चलायमान हुँदा स्थानीय आवश्यकता पूर्तिमा सहजता हुने,
१०.१० रोजगारी सिर्जना हुने,
१०.११ स्वदेशी उत्पादनले कृषिजन्य वस्तुको आयात प्रतिस्थापन हुने वा कमी आउने,

११. अनुदान र सफलताका उदाहरण :
११.१ कोशी प्रदेश सरकारको करिब २० करोड अनुदानमा बनेको सगरमाथा विशिष्टिकृत सहकारी संस्थाले सुनसरीको इटहरीमा स्थापना गरेको दूध प्रशोधन गरेर पाउडर बनाउने उद्योगको कारण कोशी प्रदेशमा मिल्क होलिडेको अन्त्य भएको छ । दूध उत्पादक किसानको बजार सुरक्षित भएको छ ।
११.२ झापा र इलाममा चिया कारखाना स्थापनामा सरकारले गरेको अनुदान करिब २० करोड हो । यही कारण निजी क्षेत्रका व्यवसायी एवम् उद्योगीका कारण साना किसानले उत्पादन गरेको हरियो पत्तिको मूल्यमा हुने ‘कार्टेलिङ’को अन्त्य भएको र हजारौँ साना चिया उत्पादक किसानलाई फाइदा पुगेको छ ।

१२. वेयर हाउस निर्माणको प्रेरणा :
भारत महाराष्ट्रको औरङ्गावादमा मुख्य कार्यालय रहेको अर्बन कोअपरेटिप सोसाइटीको सन् २०१४ मा अवलोकन गरेका थियौँ । त्यो सहकारीले ठूला र धेरै संख्याका वेयर हाउस सफलतापूर्वक सञ्चालनमा ल्याएको देख्यौँ । त्यसले स्थानीय किसानलाई उत्पादन एवम् भण्डारण गर्न प्रेरित गरेको र स्थानीय उद्योगलाई चाहिने कृषिजन्य कच्चा सामग्री उपलब्ध गराएको देखेर प्रेरणा प्राप्त भएको हो ।

१३. अनुदान सदुपयोगिताको उदाहरण एनएमसी :
कोशी प्रदेश सरकारको करिब सवा करोड अनुदानमा कष्टम हायरिङ र थप एक करोड अनुदानमा आधुनिक गाई फार्म सफलतापूर्वक सञ्चालनमा आएको छ । अहिले ती कार्यहरु अवलोकनकर्ता र सिक्न चाहनेहरुका लागि उदाहरण बनेका छन् ।

१४. उत्पादनका क्षेत्रमा एनएमसीको अनुभव र सहभागिता :
१४.१ एनएमसी डेरी उद्योग : २०७० सालमा सुरु गरेर २०७२ सालमा रु. १५ करोड संस्थाको आफ्नै लगानीमा तीन केलोलिटर प्रतिघण्टाको क्षमता भएको डेरी उद्योग निरन्तर र सफलतापूर्वक सञ्चालन गरिरहेको छ । हाल दैनिक १५ हजार लिटर दूध खरिद गरी प्रशोधन र बजारीकरण गरिरहेको छ । पचास वटाभन्दा बढी दूध चिस्यान केन्द्रको सञ्जाल निर्माण गरी ६ हजार बढी किसाललाई जोडेको छ ।
१४.२ एनएमसी चिया उद्योग : वि.सं.२०७७÷०७८ सालबाट विभिन्न चारवटा चिया सहकारीसँग एकीकरण गरेर त्यसमध्येका तीनवटा सहकारी उद्योग सञ्चालन गरिरहेको छ । पहिलो वर्ष ८७ हजार केजी तयारी चिया बनेको, दोस्रो वर्ष १ लाख ५० हजार केजी तयारी चिया बनेको र यसमध्ये ९० प्रतिशत चिया भारत निकासी गरेको छ । यो वर्ष तेस्रो सिजनको रुपमा उद्योग सञ्चालमा आइसकेको छ ।
१४.३ सगरमाथा डेरी विशिष्टिकृत सहकारी सङ्घ : एनएमसीको प्रस्ताव र अवधारणामा एनएमसी समेतको संलग्नतामा सुनसरीको इटहरी नगरपालिकामा सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघ गठन गरेर दूध प्रशोधन कारखाना (पाउडर प्लाण्ट) सफलतापूर्वक सञ्चालन भइरहेको छ ।
१४.४ एनएमसी एग्रोफार्म र कष्टम हायरिङ : कृषिमा यान्त्रिकरणको माध्यमबाट र उत्पादन लागत कम गर्ने उद्देश्यले एनएमसी एग्रोफार्म अन्तर्गत ४० भन्दा बढी आधुनिक कृषि यन्त्रउपकरण सञ्चालन गरेर कृषकलाई सहुलियत भाडादरमा उपलव्ध गराउँदै आएको छ । यसमा धान, मकै, गहुँ, तोरी हार्भेस्ट गर्ने, रोप्ने, गोड्ने, जोत्ने, थ्रेसिङ गर्ने आदिको सेवा प्रदान गर्दै आएको छ ।

१५. परियोजनाको अनुगमन :
परियोजना निर्माण तथा सञ्चालनका क्रममा संस्था अन्तर्गतको लेखा सुपरिवेक्षण समिति र संस्थाको संयन्त्रबाट परियोजनाको प्रत्यक्ष निगरानी, रेखदेख र अनुगमन तथा सुपरिवेक्षण गरिने छ । परियोजनासँग सम्बन्धित प्राविधिक पक्षको सुपरिवेक्षण सम्बन्धित विषयविज्ञ मान्यताप्राप्त परामर्शदाताबाट गराइने छ । आवश्यकता अनुसार स्थानीय पालिका, प्रदेश सरकार र संघीय सरकारका निकायहरुबाट समेत समय समयमा परियोजना निर्माण तथा सञ्चालनको अनुगमन तथा सुपरिवेक्षण गरिने छ ।

सम्बन्धित खबर