२०८१ मंसिर १५, शनिवार , ०४:३३:४८ बजे

Sajhamanch
'

सर्वोच्चको फैसलाः बीएण्डसीलाई १५ दिनभित्र मेडिकल कलेजको सम्बन्धन दिनू

बिहिवार, जेठ २४, २०८१

बिर्तामोड । सर्वोच्च अदालतले झापा बिर्तामोडका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १५ दिनभित्र बीएण्डसी मेडिकल कलेज सञ्चालनको अनुमति प्रदान गर्न फैसला गरेको छ ।

चैत १२ गते न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासले रिट निवेदक प्रसाईंको पक्षमा निर्णय सुनाएको थियो ।

उक्त आदेशको पूर्णपाठ सार्वजनिक गर्दै इजलासले १५ दिनभित्र यसै शैक्षिक सत्रदेखि एमबीबीएसको विद्यार्थी भर्ना तथा कक्षा सञ्चालन गर्न पाउने गरी सम्बन्धन प्रदान गर्न परमादेश जारी गरेको हो ।

मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट प्रारम्भिक अनुमति (एलओसी) पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै प्रसाईंले चिकित्सा शिक्षा आयोग सानोठिमी, काठमाडौं विश्वविद्यालय धुलिखेल र सरकारविरुद्ध २०७७ साल असार २१ गते रिट दायर गरेका थिए ।

सरकारबाटै आशयपत्र (एलओआई) पाएपछि प्रसाईंले बैंकबाट कर्जा लिएर संरचना खडा गरे पनि सम्बन्धन भने पाएका थिएनन् । प्रसाईंले आधा दर्जन बैंक तथा वित्तीय संस्थाबाट बीएण्डसीसहितका व्यवसाय गर्न साढे ५ अर्ब रुपैयाँभन्दा बढी कर्जा लिएका छन् ।

शिक्षा मन्त्रालयले २०६८ माघ १४ गते मेडिकल कलेज सञ्चालनका लागि दिएको मनसाय पत्र (एलओआई) लाई आधार बनाएर बैंकहरुले कर्जा दिने निर्णय लिएका थिए । कर्जा सम्झौतामा विद्यार्थीको पहिलो भर्ना भएपछि प्रथम किस्ता बुझाउन थाल्ने र कर्जा अवधि १५ वर्ष रहने उल्लेख थियो ।

तर, विभिन्न कारण प्रसाईंको बीएण्डसी मेडिकल कलेजले सञ्चालन अनुमति (एफिलिएसन) नपाउँदा प्रसाईंले बैंकको कर्जा तिर्न सकेका थिएनन् । मेडिकल कलेजको लाइसेन्स पाउनुपर्ने माग गर्दै प्रसाईं अदालत गएका थिए ।

सम्बन्धित खबर