२०८१ मंसिर १२, बुधवार , ११:०२:५३ बजे

Sajhamanch
'

बाढीको उच्च जोखिम मानिएको झापामा तोकियो अढाई सय आश्रयस्थल

मङ्गलवार, जेठ २२, २०८१

बिर्तामोड । जिल्ला विपद व्यवस्थापन समिति झापाले जिल्लाका धेरैजसो पालिका विपदको उच्च जोखिममा परेकाले विपद व्यवस्थापनको तयारी तीव्र पारिएको जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालका अनुसार समितिले आपतकालीन आश्रयस्थल तोक्ने, राहत वितरणको मापदण्ड बनाउने, जोखिममा पर्नसक्ने घरधुरीको तथ्यांक संकलन गर्ने, पालिकाहरुमा फोकल पर्सन तोक्ने र विपद व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउने प्रयत्न भइरहेको छ ।

जिल्लाका १५ वटा पालिकामध्ये गौरीगञ्ज, कचनकवल, बाह्रदशी र कमल गाउँपालिका तथा शिवसताक्षी र भद्रपुर नगरपालिका बाढीको उच्च जोखिममा रहेका उनले बताए ।

त्यस्तै, मेचीनगर, गौरादह, अर्जुनधारा, कनकाई र दमक नगरपालिका बाढीको मध्यम जोखिममा तथा हल्दिबारी, बुद्धशान्ति गाउँपालिका र बिर्तामोड नगरपालिका न्यून जोखिममा रहेका सहायक प्रजिअ नेपालको भनाई छ ।

यसवर्ष अत्याधिक वर्षा हुने मौसम विभागले गरेको प्रक्षेपण अनुसार समितिले जिल्लामा करिब ८ हजार ९१९ घरधुरी बाढीका कारण प्रभावित हुने अनुमान गरेको छ ।

जिल्लामा बाढीबाट विस्थापित हुनसक्ने परिवारलाई राख्न सम्बन्धित स्थानका विद्यालय, सामुदायिक भवन, रेडक्रस, स्वास्थ्य चौकी लगायत २५० बढी स्थानलाई आकस्मिक आश्रयस्थल तोकिएको समितिले जनाएको छ ।

प्रहरी, सेना, रेडक्रस र स्थानीय पालिका प्रमुखहरुसँग समन्वय गरेर विपद व्यवस्थापनका लागि एकीकृत योजना तयार गरिएको उनले बताए ।

जिल्ला विपद व्यवस्थापन समितिले मनसुनजन्य विपद पूर्व तयारी तथा प्रतिकार्य योजना नै तयार गरेर सरकारी एवं गैरसरकारी संघ–संस्थासँग आवश्यक सामग्रीको तयारी गर्न आग्रहसमेत गरेको छ ।

मङ्गलवार, जेठ २२, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर