मेचीनगर । काँकरभिट्टा खानेपानी संस्थाको आसन्न निर्वाचनका दुई उम्मेदवारसँग काँकरभिट्टा माविको एसएलसी ब्याच २०५८–५९ समूहले छलफल गरेको छ ।
उक्त समूहले सो निर्वाचनमा कोषाध्यक्षमा उम्मेदवारी दिएकी विमला तामाङ र सदस्यका उम्मेदवार डिल्लीकुमार काफ्लेसँग बुधवार चुनावबारे अन्तक्र्रिया गरेको हो ।
सो समूहको सह–संयोजक रहेकी उम्मेदवार तामाङ र समूहका सदस्य रहेका अर्का उम्मेदवार काफ्लेसँग निर्वाचनका सन्दर्भमा आवश्यक सल्लाह, सुझाव आदान–प्रदान गरिएको बताइएको छ ।
दुवै ब्याचीलाई पार्टीभन्दा माथि उठेर उपभोक्ताहितमा काम गर्न सुझाव दिइएको भन्दै समूहले दलीय आस्थाभन्दा पर सरेर विजयी गराउन अभियान शुरु गरिएको जनाएको छ ।
समूहका संयोजक ज्ञाननाथ गौतमले भने, ‘उम्मेदवार साथीहरुले अहिले गरेका वाचा निर्वाचित भएपछि पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’ ब्याची साथी जिताउन आफ्नो ब्याचका १०३ जना विद्यार्थी आ–आफ्नै ढंगले परिचालित हुने उनको भनाई छ ।
काँकरभिट्टास्थित तेजस्वी क्लीनीक परिसरमा गरिएको कार्यक्रममा सहभागी ब्याचका १८ जना विद्यार्थीले दुवै उम्मेदवारलाई शुभकामना दिएका थिए ।
सो समूहका संयोजक ज्ञाननाथ गौतमको अध्यक्षतामा भएको छलफलको सहजीकरण सोही समूहका मुकुन्द शिवाकोटीले गरेका थिए । आगामी ३ वर्षे कार्यकालका लागि नेतृत्व चयन गर्न उक्त संस्थाको यही जेठ २६ गते निर्वाचन हुँदैछ ।