२०८१ मंसिर १२, बुधवार , ०९:४०:५२ बजे

Sajhamanch
'

शिवसताक्षी मेयर कपः वडा नं. ११ ले उचाल्यो उपाधि

आइतवार, जेठ ६, २०८१

शिवसताक्षी । शिवसताक्षीमा जारी मेयर कपको उपाधि शिवसताक्षी वडा नं. ११ ले उचालेको छ ।

वडा नं. ८ लाई टाइबे्रकरमा ५–४ गोल अन्तरले हराउँदै वडा नं. ११ ले उपाधि हात पारेको हो । खेलको निर्धारित समयमा दुवै टीमबाट गोल हुन सकेन । खेलको अवधि गोलरहित बराबरीमा टुंगिएपछि निर्णय टाइबे्रकरबाट लिइएको थियो ।

उपाधि हात परेसँगै वडा नं. ११ ले नगद ७० हजारसहित ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै, उपविजेता वडा नं. ८ ले ४० हजार रुपैयाँ नगदसहित ट्रफी मेडल र प्रमाण पत्र पाएको शिवसताक्षी नगरपालिका खेलकुद विकास समितिले जनाएको छ ।

खेलको म्यान अफ द म्याच वडा नं. ११ का कुमार श्रेष्ठ घोषित भएका छन् । उत्कृष्ट गोल किपर वडा नं. ८ का विशाल घतानी, उत्कृष्ट डिफेन्डर वडा नं. ८ का दावा तामाङ, उत्कृष्ट मिडफिल्डर वडा नं. ११ का निकेश श्रेष्ठ घोषित भएका छन् ।

त्यस्तै, उत्कृष्ट फरवार्ड वडा नं. का ११ आकाश पौडेल, सर्वोत्कृष्ट खेलाडी वडा नं. ८ का विशाल थिङ, हाइस्कोर वडा नं. ११ का आकाश पौडेल र निकेश श्रेष्ठ घोषित भएका छन् ।

त्यसैगरी, भलिबल तर्फको उपाधि हात पारेको शिवसताक्षी–७ ले नगदराशी ५० हजार र उपविजेता बनेको शिवसताक्षी ११–ले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

यसैगरी, क्रिकेट विधाको उपाधि वडा नं. ९ ले हात पारेको छ । उपाधि हात पारेसँगै उक्त वडाले नगद ५० हजार र उपविजेता बनेको वडा नं. ११ ले नगद ३० हजार रुपैयाँ प्राप्त गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

त्यस्तै, व्याडमिन्टन खेल तर्फको उपाधि वडा नं. ९ ले उचालेको छ । उपाधि हात पारेसँगै सो वडाले ले १० हजार र उपविजेता बनेको शिवसताक्षी–११ ले ६ हजार नगदसहित पुरस्कार प्राप्त गरेको छ ।

त्यस्तै गरेर कराते विधामा वडा नं. १० विजयी हुँदा वडा नं. ८ उपविजेता बनेको छ । दुवै टीमले नगद तथा प्रमाण पत्र प्राप्त गरेका छन् ।

सबै विधाका विजेता तथा उपविजेता टीमका खेलाडीहरुलाई शिवसताक्षी नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, योजना अधिकृत प्रकाश चौधरी, लेखा अधिकृत प्रकाश योङ्गहाङ लगायतले नगद तथा प्रमाण पत्र प्रदान गरेका छन् ।

यही वैशाख ३० गतेबाट सञ्चालन भएको मेयर कपमा नगरका ११ वटै वडाका टीम सहभागी थिए । सो प्रतियोगिता शिवसताक्षीको झिलझिलेस्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा भएको थियो ।

सम्बन्धित खबर