बिर्तामोड । आयोजक पूर्वेली युवा क्लब निलो बिर्तामोडमा जारी स्व. दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा झापाको चन्द्रगढी भेट्रान्स एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक निलो उपाधि नजिक पुगेको हो ।
खेलको ४८ औँ मिनेटमा पूर्वेलीका चन्द्रकुमार गिरीले चन्द्रगढीका गोलकिपर डिबक्सभित्र अलमलिएको मौकामा बलले जाली चुमाएका थिए । प्रतिस्पर्धात्मक खेलमा दुवै पक्षले गोल गर्ने अवसर पाए पनि प्रहार फितलो हुँदा स्कोर भने गर्न सकेनन् ।
गिरीको गोल नै जितका लागि पर्याप्त भयो । प्रतियोगिताको प्लेयर अफ द म्याच पूर्वेलीका चन्द्रकुमार गिरी भए । उनले नगद २ हजार ५०० र ट्रफी पाए ।
उनलाई झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी लगायतले पुरस्कार प्रदान गरे । भोलि (शनिवार) को अन्तिम सेमिफाइनल खेल विराट मेगा भेट्रान्स एफसीले आयोजक रातोसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।
कोशी प्रदेशका ८ वटा टीमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ ७ गते हुने आयोजक पूर्वेली युवा क्लबका कार्यवाहक अध्यक्ष दिपेन चौधरीले बताए ।
प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी र मेडल पाउने उनले बताए ।
त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार ५०० र ट्रफी पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी प्रदान गरिनेछ ।
प्रतियोगिताको उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले नगद ५ हजार र ट्रफी प्राप्त गर्ने संयोजक टेकराज तिलिङले बताए ।
पूर्वेली युवा क्लब बिर्तामोडका अध्यक्ष रविन श्रेष्ठले आफ्नी आमा दुर्गादेवी श्रेष्ठको स्मृतिमा विजेताको नगद पुरस्कार प्रदान गरेका छन् ।