२०८१ मंसिर १२, बुधवार , ०२:४०:३९ बजे

Sajhamanch
'

ओलम्पियन्स र सेलिब्रेटी खेलाडीलाई बिर्तामोडमा स्वागतसहित सम्मान

शनिवार, वैशाख २२, २०८१

बिर्तामोड । ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेटघाट कार्यक्रमअन्तर्गत झापाको बिर्तामोडमा सहभागीहरुलाई स्वागत तथा सम्मान गरिएको छ ।

बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच झापा जिल्ला खेलकूद विकास समिति र बिर्तामोड नगरपालिकाले उनीहरुलाई स्वागतसहित सम्मान गरेका हुन् ।

कोशी प्रदेशको खेलकूदसँगै आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा खेलकूदका चर्चित खेलाडीबीचको पुनर्मिलन कार्यक्रममा ६० जना नेपाली ओलम्पियन्स खेलाडी, २५ जना प्रदेशभित्रका अनुभव र अभ्यासमा विशेष दख्खल राखेका चर्चित खेलाडीको सहभागिता रहेको छ ।

त्यस्तै, ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा अस्ट्रिया, मलेशिया, सिंगापुर र बेलायतका ६ जना ओलम्पियनहरु समेत सहभागी छन् ।

सिद्धार्थ होटलमा भएको कार्यक्रममा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं, नगर खेलकूद विकास समिति अध्यक्ष विकास गिरी, नेपाल उद्योग वाणिज्य महासंघ कोशीका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, स्थानीय अग्रज तथा अन्य खेलाडीहरुले ओलम्पियन्स तथा सेलिब्रेटी खेलाडीलाई स्वागत तथा सम्मान गरेका थिए ।

पुनर्मिलन कार्यक्रम इटहरी, बिर्तामोड हुँदै इलामको सूर्योदय नगरपालिकास्थित श्रीअन्तु र कन्याममा पुगेर समापन हुनेछ । कोशी प्रदेश खेलकूद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स एशोसिएशनको संयोजनमा सो कार्यक्रम भएको हो ।

नेपालमा सन् १९६४ सालमा पहिलोपटक ओलम्पिकमा सहभागिता जनाएका खेलाडीदेखि हालसम्मका ओलम्पियन, ओलम्पिक एशोसिएशनका अध्यक्ष तथा पदाधिकारी, खेलाडी लगायत सहभागी छन् ।

सम्बन्धित खबर