
महोत्तरीको बर्दिवास जंगलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। दुर्घटनामा उनकी आमा गम्भीर घाइते भएकी छन्।
मृत्यु हुनेमा सर्लाही बागमती नगरपालिका वडा नम्बर ४ बस्ने २२ वर्षिया स्मृति कार्की रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ। दुर्घटनामा उनकी आमा ५० वर्षीया उषा कार्की गम्भीर घाइते भएकी छन् । उनलाई बर्दिबासमा रहेको शुभस्वस्तिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौँ ल्याइएको छ ।
शनिबार बिहान पूर्वपश्चिम राजमार्गमा पर्ने बर्दिबास नगरपालिका ५ टुटेश्वर जंगलमा सर्लाहीबाट महोत्तरीको बर्दिबास तर्फ जाँदै गरको प्रदेश २–०३–००७ प ३३६९ नम्बरको मोटरसाइकल दुर्घटनामा परको हो। मोटरसाइकल स्मृतिले चलाएकी थिइन । पछाडि बसेकी उनकी आमाको सल मोटरसाइकलको पछाडीपट्टीको टायरमा बेरिएर अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको बताइएको छ।
मृतक कार्कीको माइत सर्लाहीकै लालबन्दी नगरपालिका ४ हरिभवन हो। १ वर्षअघि मात्रै उनको विवाह भएको थियो।