काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पटक विश्वासको मत लिँदै छन् । प्रदेशसभाको दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
गतवर्ष भएको आमनिर्वाचनपछि जनता समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका यादव नै निरन्तर मुख्यमन्त्री छन् । तर, केन्द्रीय गठबन्धनमा हुने फेरबदलले यादवलाई पटक–पटक विश्वासको मत लिनुपर्ने परिस्थिति बनेको हो । पछिल्लो पटक गत फागुन २१ गते सङ्घमा गठबन्धनमा फेरबदल भएपछि चैत ५ गते कांग्रेस मधेसको सरकारबाट बाहिरिएको थियो ।
त्यसपछि नेकपा एमाले सरकारमा सहभागी भएको थियो । चैत ९ गते कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानबमोजिम यादवले मङ्गलवार विश्वासको मत लिन लागेका हुन् ।
१०७ सदस्यीय मधेस प्रदेश सभामा सबैभन्दा ठुलो दल एमालेका २५, कांग्रेसका २२, जसपाका १९ र जनमतका १३ सांसद छन् । त्यस्तै, लोसपाका ९, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, नेपाल संघीय समाजवादी, नागरिक उन्मुक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टीका १-१ सांसद रहेका छन् ।