२०८१ मंसिर ११, मङ्गलवार , ०१:४५:४३ बजे

Sajhamanch
'

विदेश मोह त्यागेर स्वदेशमै सफल उद्यमी बने धाइजनका सिटौला

सोमवार, वैशाख ३, २०८१

मेचीनगर । मेचीनगर–११, धाइजनस्थित बाँसबारीका टीकाराम सिटौला (वर्ष ३३) लाई पनि विदेशमा रोजगारी गर्न जाउँ–जाउँ नलागेको भने होइन ।

त्यही हुटहुटीले उनलाई ९ वर्षअघि म्यानपावर कम्पनीसम्म पुर्यायो । तर, विदेश उड्ने सुर कसेर हिंडेका सिटौला अन्तर्वार्ताबाटै बाहिरिए ।

विदेशका लागि नछानिएपछि त्यो सोचलाई त्यहीँ बिट मार्दै उनले नयाँ संकल्प गरे– ‘अब जे गर्छु, आफ्नै ठाउँमा गर्छु ।’

स्वदेशमै केही गर्ने मनस्थिति बनाएर म्यानपावरबाट निस्किएका सिटौलाले अन्ततः गाउँघरमै रोजगार सिर्जना मात्रै गरेनन्, अरुलाई समेत रोजगार दिएका छन् ।

२०६८ सालमा धुलाबारीस्थित ज्ञानोदय शिक्षा निकेतनबाट एसएलसी उत्तीर्ण गरेका उनले विदेशको योजना बुन्नुअघि ३ वर्ष मोवाइल पसलसमेत सञ्चालन गरेका थिए ।

एसएलसी दिएर बिर्तामोड र दमकमा मोवाइल सम्बन्धी तालिम लिएका सिटौला भन्छन्, ‘त्यसपछि धुलाबारीमा आफ्नै पसल खोलें, राम्रोसँग नचलेपछि पसलै बेचिदिएँ ।’

“पसल बेचेपछि १ वर्ष घर बस्दै विदेश जान प्रयास गरें” घरेलु उद्योग शुरु गर्नुअघिको कुरा जोड्दै उनले थपे, “विदेश नजुरेपछि काकाको कागज कारखानामा काम गरेर तालिम लिएँ अनि आफ्नै उद्योग खोलें ।”

सिटौलाले २०७३ सालबाट सञ्चालनमा ल्याएको प्रकृति नेपाली हातेकागज उद्योगमा अहिले ३० जना मजदूरले रोजगारी पाएका छन् ।

“काम गर्नेमा धेरैजसो दम्पत्ती छन्” उनले भने, “एक जोडीले मासिक न्यूनतम २० हजारदेखि ५० हजार रुपैयाँसम्म कमाउँछन् ।”

उद्योगमा पूर्वी पहाडी जिल्लासहित देशका विभिन्न स्थानका मजदूरहरु रहेको बताउँदै सिटौलाले भने, ‘मजदूरहरुलाई बसोबासका लागि आवासको प्रबन्ध गरिदिएको छु, कोठा, पानी र बिजुलीको पैसा लाग्दैन ।’

घरेलु तथा साना उद्योग कार्यालय झापामा दर्ता भएको सो उद्योग ५ लाख रुपैयाँको लगानीमा शुरु गरिएको उनको भनाई छ ।

“अहिलेसम्म कूल लगानी १ करोडजति पुग्यो, सबै खर्च कटाउँदा मुनाफा करीब ४० प्रतिशत हुन्छ” सिटौलाले थपे, “बजार प्रतिस्पर्धी भएपनि व्यवसाय राम्रै चलेको छ, सन्तुष्ट छु ।”

सो उद्योगमा चाहिने कच्चा पदार्थ बाबियो (घाँस) इलामको चुलाचुली र दाङबाट तथा लोक्ता र काक्तेको बोक्रा पाँचथरबाट ल्याउने गरिएको उनले बताए ।

दैनिक न्यूनतम ३ हजार २०० सिटसम्म कागज उत्पादन हुने गरेको जानकारी दिँदै उनले १ जना मजदूरबाट दैनिक ५०० सिटसम्म हाते कागज उत्पादन हुने गरेको सुनाए ।

“कच्चा पदार्थलाई पहिला पकाउने, केलाउने, ब्लिजिङ गर्ने, सफा पानीमा पखाल्ने, मेसिनमा हालेर पेल्ने काम हुन्छ” कागज उत्पादनको प्रक्रिया प्रस्ट्याउँदै सिटौलाले भने, “त्यसपछि फ्रेम गरेर, पानीमा भिजाएर, ब्रस गरेर टिनको पातामा सुकाएपछि कागज तयार हुन्छ ।”

८ कट्ठा निजी जग्गामा सञ्चालित घरेलु उद्योगबाट उत्पादित हाते कागज (पहाडे कागज) अड्डा, अदालत लगायत नेपालका विभिन्न सरकारी कार्यालयमा प्रयोग हुने उनले बताए ।

देशका विभिन्न स्थानसहित अमेरिका, अष्ट्रेलिया, जापान, चीन, भारतबाट समेत कागजको माग हुने गरेको बताउँदै सिटौलाले भने, ‘माग अनुसारकै आपूर्ति गर्दै आएका छौं ।’

स्वदेशमा रोजगार छैन भन्दै दिनहुँ विदेशिनेहरुका लागि प्रेरणाको स्रोत बनेका उनले यही व्यवसायलाई व्यवस्थित बनाउँदै आत्मनिर्भर बन्ने प्रण गरेका छन् ।

सम्बन्धित खबर