
काठमाडौं । नेपाल बैंकर्स सङ्घले ब्याजदर घट्दा पनि कर्जाको माग नबढ्नु चिन्ताको विषय भएको बताएको छ । हिजो काठमाण्डौमा भएको पत्रकार सम्मलेनमा सङ्घका अध्यक्ष सुनिल केसीले कर्जाको माग नबढ्नु बैंकको लागि मात्र नभई समग्र अर्थतन्त्रको लागि पनि चिन्ताको विषय भएको बताउनुभयो ।
उहाँकाअनुसार चालु आर्थिक वर्षको चैत १६ गतेसम्म कर्जाको वृद्धिदर ४ दशमलव १७ प्रतिशत मात्र रहेको छ । अहिले कतिपय कर्जाको ब्याजदर एकल अङ्कमा झरिसकेको उहाँको भनाइ छ । घर कर्जा, विद्युतीय गाडी कर्जा र उत्पादनमूलक क्षेत्रको कर्जा एकल अङ्कमा नै झरिसकेको र अरु कर्जाको ब्याजदर पनि एकल अङ्कमा नै आउने अवस्था रहेको उहाँले बताउनुभयो ।
बैंकर्स सङ्घका अध्यक्ष केसीले विश्वब्यापी रुपमा पनि ब्याजदर घट्दै गइरहेकोले आउँदा दिनमा ब्याजदर अझै घट्ने बताउनुभयो । पहिले ब्याजदर बढी भएर कर्जा नबढेको चर्चा हुने गरेको भए पनि अहिले ब्याजदर घट्दा पनि कर्जा बढ्न नसकेको बैंकरहरुको भनाइ छ ।