२०८२ जेठ ८, बुधवार , १०:००:५२ बजे

Sajhamanch
'

पत्रकार भण्डारी र चालक खड्का मेची उवा संघद्वारा पुरस्कृत

बिहिवार, चैत २२, २०८०

मेचीनगर । मेची उद्योग वाणिज्य संघद्वारा स्थापित ‘आर्थिक पत्रकारिता पुरस्कार’बाट राष्ट्रिय समाचार समिति झापाका समाचारदाता अम्बिका भण्डारी पुरस्कृत भएकी छन् ।

धुलाबारीमा बुधबार आयोजित संघको १९औं वार्षिक साधारण सभामा पत्रकार भण्डारीलाई नगद २१ हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरी पुरस्कृत गरिएको हो ।

संघले आफ्ना उत्कृष्ट कर्मचारीको रुपमा एम्बुलेन्स चालक मिनबहादुर खड्का (कुमार)लाई नगद १५ हजार रुपैयाँसहित सम्मान पत्रले पुरस्कृत गरिएको छ ।

राससका पत्रकार भण्डारी दुई दशकदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । रासस बाहेक लोकतन्त्र पोस्ट, जनसंसद् र पूर्वाञ्चल दैनिक उनको कार्यस्थल थियो ।

साधारणसभाको उद्घाटन कोशी उद्योग वाणिज्य महासंघका अध्यक्ष राजेन्द्र राउतले गरेका थिए । आफ्नो मन्तब्यमा राउतले बन्दै गरेको एशियन हाइवेले विकासको थप ढोका खुल्ने सम्भावना बढेको बताए । प्रदेश अध्यक्ष राउतले सरकारसँग तयारी वस्तु आयातमा दोब्बर कर बढाउन र कच्चा पदार्थ आयातमा सहुलियत दिन आग्रह पनि गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेशका पूर्व प्रमुख विष्णु प्रसाईले भारतीय सीमावर्ती क्षेत्रमा जाँदा अझै पनि परिचय खुल्ने कागजात देखाउनु पर्ने झन्टझटिलो प्रक्रियलाई हटाउन वाणिज्य संघलाई पहल गर्न आग्रह गरे । उद्योग वाणिज्य संघले शिक्षा, स्वास्थ्य र खेलकुदमा पुर्याएको योगदानको प्रसाईले चर्चा गरेका थिए ।

सो कार्यक्रममा मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले भारतीय बजार गुल्जार हुँदा नेपाली बजार सुनसान हुने गरेको बताउँदै स्थलमार्गबाट सिधै भूटान–बंगलादेश व्यापार गर्ने मुख्या नाका काँकरभिट्टा रहेकोले स्वदेशी बजारलाई प्राथमिकतामा राखेर काम गर्न अनुरोध गरे ।

नेपाल उद्योग बाणिज्य महासंघका सदस्य उमेश डालमियाले सबैभन्दा बढी उद्योगी व्यवसायी पीडित रहेको बताउँदै भारतीय बजार गुल्जार हुँदा नेपाली व्यापारीहरुले सटर खाली गर्नुपर्ने स्थितिमा पुगेको जिकिर गरे ।

महासंघका केन्द्रीय सदस्य नरेन्द्र खड्काले सरकारको ढिकुटीमा पैसा थुप्रिए तापनि सत्ता परिवर्तनको खेल भइरहँदा सही सदुपयोग हुन नसकेको बताए ।

झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठ, मेचीनगर नगरपालिका पूर्व प्रमुख विमल आचार्य, मेचीनगर नगरपालिकाका आर्थिक शाखा प्रमुख पदमबहादुर कार्कीलगायतले मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा अध्यक्ष प्रसाईले संस्थाले वर्षभरि गरेका गतिविधिको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका महासचिव दिनेश शाक्यले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरुलाई धन्यवादसहित कार्यक्रमको समापन वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्रीले गरेका थिए ।

सम्बन्धित खबर