
विश्व खाद्य कार्यक्रमले यस वर्ष अफगानिस्तानमा ३० लाख बालबालिका कुपोषणमा पर्न सक्ने चेतावनी दिएको छ । अफगानिस्तानमा विभिन्न सङ्घ–संस्था र दातृ निकायबाट राहत उपलब्ध गराउने प्रयासमा अवरोध हुँदा पनि लाखौँ मानिस भोकमरीको जोखिममा परेका छन् ।
खामा प्रेसकाअनुसार अघिल्लो वर्ष वैदेशिक सहायता घटेकाले कुपोषित बालबालिकाको उपचार गराउने क्रम बढेको छ । अफगानिस्तानमा खाद्य कार्यक्रमका पोषण प्रमुख मोना शेखका अनुसार झन्डै १६ लाख जना कुपोषित बालबालिकालाई सहयोग गर्न सक्षम हुने अवस्था छ ।
तालिबान नियन्त्रित अफगानिस्तानमा धेरै परिवार आफ्ना बालबालिकालाई खाना उपलब्ध गराउन नसक्ने अवस्थामा छन् । तालिबानले सत्ता सम्हालेयता अफगानिस्तानले मानवीय सङ्कटको सामना गरेको विभिन्न रिपोर्टले पनि देखाएका छन् ।