काठमाडौं । उपत्यकाभित्रका औद्योगिक क्षेत्र अन्यत्र सार्ने वर्षौंअघिको योजना अलपत्र परेको छ । सरकारले आर्थिक वर्ष २०७३र७४ को बजेट वक्तव्यमार्फत् उपत्यकाभित्रका उद्योग सार्ने नीति सार्वजनिक गरेको भए पनि अझै कार्यान्वयन नभएको हो ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका निमित्त महाप्रबन्धक राजेन्द्रप्रसाद कँडेलले उपत्यकाभित्रका औद्योगिक क्षेत्र सार्ने तत्काल कुनै योजना नरहेको बताउनुभयो । बालाजु औद्योगिक क्षेत्रमा एकसय ३५ वटा उद्योग सञ्चालनमा छन् भने चारवटा निर्माणाधीन छन् ।
पाटनमा एकसय ११ वटा उद्योग सञ्चालनमा र चारवटा निर्माणाधीन छन् । भक्तपुरमा ३८ वटा सञ्चालनमा र एउटा उद्योग निर्माणाधीन अवस्थामा रहेका छन् ।
उपत्यकाको घना बस्तीका बीचमा रहेका उद्योगबाट सिर्जित प्रदूषणको असर, दशकौँ पुराना संरचना जीर्ण अवस्थामा पुग्दासमेत मर्मतसम्भार नहुनु, उद्योगका लागि नवीनतम प्रविधि जडान गर्न नसक्नुलगायत कारण औद्योगिक क्षेत्र सार्नुपर्ने सरकारले बताएको थियो ।
बालाजु र पाटन औद्योगिक क्षेत्रका अधिकांश पूर्वाधार संरचना ६० वर्ष पुराना छन् । औद्योगिक फोहोर र ढल व्यवस्थापनका लागि समस्या छ । धुवाँ निस्किने उद्योगमा अलिकति धुवाँ आउने बित्तिकै स्थानीयले गुनासो गर्ने गरेका छन् । विद्युत्, पानीलगायतका पूर्वाधार पनि जीर्ण अवस्थामा छन् ।