२०८१ पौष २८, आइतवार , ०७:५०:११ बजे

Sajhamanch
'

कमल गाउँपालिका कोशी प्रदेशकै पहिलो स्थानीय शासनयुक्त पालिका घोषित

आइतवार, माघ २१, २०८०

कमल । झापाको कमल गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरिएको छ । अब कमल गाउँपालिका देशको २३औं, कोशी प्रदेशको चौथो र कोशी प्रदेश कै पहिलो बालमैत्री गाउँपालिका बनेको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शनिबार यसको घोषणा गरेका हुन् । सो अवसरमा मन्तब्य राख्दै मुख्यमन्त्री कार्कीले बालबालिकाको स्वास्थ्य र शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

साना सडक, मन्दिर र सामुदायिक भवनको योजना काटेर १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने व्यवस्था प्रदेश सरकारले मिलाएको मुख्यमन्त्री कार्कीले बताए ।

भौतिक विकासलाई मात्र विकास हो भनेर नहेर्न आग्रह गर्दै उनले आगामी दिनमा सरकार भौतिक विकासमा मात्र केन्द्रित नभएर मानवीय विकासमा केन्द्रित हुने मुख्यमन्त्री कार्कीले दावी गरे ।

कार्यक्रममा गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा अभियान सफल बनाउन महत्वपूर्ण योगदान पुर्याएकोमा निवर्तमान अध्यक्ष मेनुका काफ्लेलाई अभिनन्दन गरियो । साथै पूर्व जनप्रतिनिधिहरु, बालमैत्री अभियन्ता सुमन ढकाल, विभिन्न संघ–सस्था, विद्यालय तथा गाउँ र वडा बाल सञ्जाललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य होमबहादुर थापा, कमल गाउँपालिकाका निवर्तमान अध्यक्ष मेनुका काफ्ले, शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विक लगायतले मन्तव्य राखेका थिए ।

गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणालाई कार्यान्वयन गर्नेबारे पालिकाको तर्फबाट प्रतिवद्धता मन्तव्य राखेका थिए ।

गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले शाब्दिक स्वागत गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले पालिकाको तर्फबाट घोषणा प्रतिवेदन प्रस्तुत गरेका थिए ।