२०८१ मंसिर १४, शुक्रवार , ०८:०१:५४ बजे

Sajhamanch
'

एकैवर्ष १७ सय ९५ नेपाली पुगे रुस, ९५ जना युक्रेन

मङ्गलवार, पौष २४, २०८०

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा एक हजार ७९५ नेपाली रुस गएको पाइएको छ । यो संख्या काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुस जानेहरूको मात्र हो ।अध्यागमन विभागले सोमबार सार्वजनिक गरेको विवरणमा सन् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्मको अवधिमा उक्त संख्यामा नेपाली रुस गएको पाइएको हो ।पछिल्लो समय विभिन्न वहानामा रुस पुगी त्यहाँको सेनामा भर्ती हुने नेपालीको संख्या बढ्दो छ । केही महिनायता रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा १० नेपालीले ज्यान गुमाइसकेका छन् ।

यस्तै, चार नेपालीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिई युद्धबन्दी बनाएको छ ।रुसी सेनामा कति नेपाली भर्ती भएका छन् भन्ने यकिन विवरण नेपाल सरकारले प्राप्त गर्न नसकिरहेका बेला विभागले ठूलो संख्यामा नेपाली रुस पुगेको विवरण सार्वजनिक गरेको हो ।

रुसी सेनामा भर्ती भएका नेपाली युक्रेनसँगको युद्धमा मारिएपछि नेपालले रुससँग भर्ती भएका नेपालीको विवरण माग्दै आएको छ । यतिमात्र होइन नेपालले थप नेपालीलाई भर्ती नलिन र भर्ती भएकालाई फिर्ता बोलाउन समेत रुससँग आग्रह गरेको छ ।रुसले पनि नेपालको आग्रहलाई बेवास्ता गर्दै आएको छ । उल्टै गतसाता रुसी राष्ट्रपतिले नेपालीलगायत विदेशीलाई आफ्नो सेनामा आकर्षित गर्न नयाँ आदेश जारी गरेका छन् । नयाँ आदेशमा रुसी सेनामा एक वर्षको लागि भर्ती हुन सम्झौता गर्ने विदेशी नागरिक र उसको परिवारलाई रुसी नागरिकता दिने व्यवस्था छ ।विभागले सार्वजनिक गरेको विवरणअनुसार वर्ष २०२३ मा मात्र ९५ जना नेपाली युक्रेन गएका छन् ।

सम्बन्धित खबर