२०८१ मंसिर १२, बुधवार , ११:१८:३८ बजे

Sajhamanch
'

चम्पापुर माविको ६०औं वार्षिकोत्सवमा विपन्न, जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीहरु पुरस्कृत

बुधवार, पौष १८, २०८०

कनकाई । झापाको कनकाई नगरपालिका वडा नं. ६ मा रहेको चम्पापुर माविले विभिन्न सांस्कृतिक कार्यक्रमहरु सहित आफ्नो ६०औं वार्षिकोत्सव तथा अभिभावक भेला मंगलबार सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिनमाया बस्नेतको अध्यक्षतामा आयोजित समारोहको प्रमुख आतिथ्य कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल रहेका थिए ।

सा अवसरमा विद्यालयमा स्थापना भएको करिब एक दर्जन अक्षय कोषबाट विपन्न, जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीहरु पुरस्कृत साथै सम्मानित भएका छन् । विद्यालयमा स्थापना भएका विभिन्न ११ वटा अक्षय कोषहरुबाट विद्यार्थीहरुलाई न्यानो कपडा, नगदसहित पुरस्कृत एवं सम्मानित गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पोखरेलले नगर क्षेत्रमा गुणस्तरीय शिक्षा प्राप्तिका लागि विभिन्न विधामा विद्यार्थीलाई अब्बल बनाउँने उद्देश्य अनुरुप नगरपालिकाले कार्य सम्पादन गर्दै आएको बताए ।

जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हाले यता नगरको शैक्षिक विकासमा भएको प्रगतिका कारण यो अवधिमा कनकाई नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयहरुमा मात्रै ११०० विद्यार्थीको संख्या वृद्धि भइसकेको नगर प्रमुख पोखरेलले दावी गरे । नगर क्षेत्रका अभिभावक एवं शिक्षकहरुको योगदानका कारण पनि यो उपलब्धी हात परेको नगर प्रमुख पोखरेलको ठहर छ ।

पछिल्लो समय प्रविधिमैत्री बन्दै गएका अधिकांश सामुदायिक विद्यालयहरुले स्थानीय सरकारको पहलमा अंग्रेजी माध्यमलाई समेत प्राथमिकतामा राख्दै अघि बढेको जानकारी दिँदै नगरप्रमुख पोखरेलले नगरपालिकाले पढ्दै कमाउँदै गर्नेगरी विद्यार्थीलाई आत्मनिर्भर बनाउने कार्यक्रम संचालन गरेको जानकारी दिए ।

विद्यालयका तर्फबाट प्रधानाध्यापक विष्णुप्रसाद कोइरालाले भावी योजनासहितको प्रगति विवरण सार्वजनिक गरेका थिए । आगामी शैक्षिक सत्रमा विद्यार्थी संख्या वृद्धि गरी कम्तीमा ५०० बनाउने साथै स्थानीय आवश्यकताका आधारमा प्राविधिक तथा व्यवसायिक शिक्षाको प्रबन्ध मिलाउने योजना रहेको प्रधानाध्यापक कोइराला बताउँछन् ।

विद्यालयले कक्षा नर्सरीदेखि पाँच कक्षासम्म यसै शैक्षिक सत्रबाट संचालनमा आएको अंग्रेजी माध्यमको पठनपाठनका बारेमा सहायक प्रधानाध्यापक रुद्रवहादुर थापाले जानकारी गराएका थिए । यसलाई निरन्तरता दिनका लागि विद्यालयले स्थानीय सरकारसँग सहयोगको अपेक्षा राखेको थापाले सुनाए ।

विद्यालयमा भौतिक सुविधा वृद्धिका लागि विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, सभाहल, प्रतिक्षालयको निर्माण साथै सञ्चालन गर्ने योजना रहेको बताइएको छ ।

सो कार्यक्रममा घैलाडुवा गाविसका पुर्व अध्यक्ष वृहस्पति उप्रेती, कोटीहोम धार्मिक संस्थाका अध्यक्ष शेरबहादुर थापाले विद्यालयमा अक्षयकोषको घोषणा गरेका छन् ।

कार्यक्रममा सेवानिवृत्त शिक्षक लक्ष्मीप्रसाद नेपाल र दिर्घसेवा सम्मानका रुपमा शिक्षिका सुलोचना घिमिरेलाई विशेष सम्मान गरिएको छ । त्यस्तै विद्यालयको चौतर्फी विकासमा सहयोग गर्ने झापाली समाज अष्ट्रेलियाका प्रतिनिधि रोजन खतिवडासहित विभिन्न समयमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, कनकाई वडा नं.६ का वडाअध्यक्ष दीर्घवहादुर थापा, वडा नं.७ का वडाअध्यक्ष भिष्मभुषण सिटौला लगायतले विद्यालयको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका सदस्य खगेन्द्र आचार्यले स्वागत गरेको कार्यक्रमको संचालन शिक्षक मोहन काफ्लेले गरेका थिए ।

सम्बन्धित खबर