काठमाडौं । विभिन्न कार्यक्रम गरी ११ औँ नेपाली टोपी दिवस मनाइएको छ । जागरुक युवा अभियान नेपालको आयोजनामा सोमबार (आज) काठमाडौंको वसन्तपुरमा एक कार्यक्रम गरी टोपी दिवस मनाइएको हो ।
‘नेपाली टोपी : नेपाली पहिचान’ भन्ने नारासहित यस वर्षको ११ औं नेपाली टोपी दिवस मनाइएको हो । दौरा सुरुवाल, टोपी र गुन्युचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी)लाई राष्ट्रिय पहिचानका रूपमा घोषणा गर्न माग गर्दै नेपाली टोपी दिवस मनाउँदै आएको आयोजकले बताएको छ ।
उनीहरूले ढाकाटोपी र भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानका रूपमा घोषणा गर्न सरकारसँग माग समेत गरेका छन् । उनीहरूले ‘नेपाली टोपी लगाऔँ, पहिचान बढाऔँ’, ‘विश्वको पहिचान पढौँ’, ‘नेपाली पहिचान तोकौँ’, ‘सामुदायिक टोपीको सम्मान’, ‘नेपाली टोपी हाम्रो पहिचान’, ‘हाम्रो राष्ट्रिय पहिचान टोपी’लगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।