२०८१ पौष २७, शनिवार , ०५:०४:३२ बजे

Sajhamanch
'

शुभकामना सन्देशमा प्रदेशको नामै नलेखेपछि कोशीका मुख्यमन्त्रीको आलोचना

आइतवार, पौष १५, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आइतबार बिहानैदेखि सामाजिक सञ्जालमा शुभकामना र आलोचना सँगैसँगै पाइरहेका छन्।

मुख्यमन्त्री कार्कीको आइतबार जन्मदिन परेका कारण उनका शुभचिन्तकहरुले सामाजिक सञ्जालबाट उनलाई जन्मदिनको शुभकामना दिइरहँदा धेरैले उनको आलोचना पनि गरिरहेका छन्।

आलोचनाको कारण बनेको छ, उनले तमु ल्होसारका अवसरका दिएको शुभकामना सन्देश। मुख्यमन्त्रीले बिहानै सार्वजनिक गरेको शुभकामना सन्देशको लेटरहेडमा प्रदेशको नाम गायब छ।

‘विराटनगर नेपाल’ मात्रै रहेको लेटरप्याडमा प्रदेशको नाम नै गायब देखिएपछि उनी कुन प्रदेशका मुख्यमन्त्री हुन् भन्ने प्रश्न सन्जालमा ओइरियो।

प्रदेश नामकरणका बेला ‘कोशी’ का पक्षमा मतदान गरेका मुख्यमन्त्री कार्कीतिर अर्को प्रश्न पनि सोझियो, नाम फेर्नुपर्ने आवाज उठाउनेहरुलाई सम्बोधन गर्नै खोजेका हुन् ?

सामाजिक सन्जालमा यसबारे चर्को आलोचना भएपछि मुख्यमन्त्रीको सचिवालयले केहीबेरमै अर्को शुभकामना सन्देश सार्वजनिक गर्‍यो, जसको लेटरहेडमा ‘कोशी प्रदेश विराटनगर नेपाल’ लेखिएको छ।

केही समयको अन्तरमा एकै विषयमा दुईटा शुभकामना सन्देश बाहिरिएपछि अहिले मुख्यमन्त्रीको सचिवालयका कर्मचारीहरु जिम्मेवारीबाट पन्छिन खोजिरहेका छन्।

प्रदेशको नाम बेगरको शुभकामना सन्देश कसले सार्वजनिक गर्‍यो आफूहरुलाई थाहा नभएको सचिवालयका सदस्यहरु बताउँछन्।

‘मैले त होइन तर जसले गरे पनि गल्ती भयो, सच्याएर अर्को आइसकेको छ’, सचिवालयका एक जना सल्लाहकारले भने ‘यो मानवीय त्रुटी हो। नियत होइन।’

प्रदेश सभाले प्रदेशको नाम कोशी राखेपछि एकाथरी पहिचान पक्षधरहरू आन्दोलनमा छन्।

मुख्यमन्त्री कार्कीको दल नेपाली कांग्रेससँग सत्ता साझेदारी गरिरहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पनि प्रदेशको नाम कोशी राख्न नहुने पक्षमा छन्।

माओवादीले प्रदेश सभामा कोशी कै पक्षमा मतदान गरे पनि आफ्ना लेटर हेड र सार्वजनिक कार्यक्रमहरूमा प्रदेश १ नै उल्लेख गर्दै आएको छ।

कार्कीको सचिवालय अहिलेसम्मकै ठूलो

शुभकामना सन्देशमै गल्ती भएको बताउने मुख्यमन्त्री कार्कीको सचिवालय भने प्रदेशको अहिलेसम्मकै सबैभन्दा ठूलो सचिवालय हो। त्यहाँ तीन जना त पत्रकार नै छन्।

कार्की गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका हुन्। उनको सचिवालयले पूर्णता पाएको एक साता पनि बितेको छैन।

तर, नियुक्त भएका सबैलाई मुख्यमन्त्री कार्कीले आफू नियुक्त भएको भोलिपल्टैको अर्थात् असोज २७ देखिबाटैको नियुक्ति पत्र दिएका छन्। पुस पहिलो साता नियुक्त सल्लाहकारहरुको पनि नियुक्ति मिति असोज २८ को छ।

उनीहरूले सोही मितिबाट तलब भत्ता बुझिरहेका छन्।

मुख्यमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार, मुख्यमन्त्री कार्कीको सचिवालयमा जनसम्पर्क सल्लाहकारका रुपमा लिला बल्लभ घिमिरे नियुक्त भएका छन्। सहसचिवस्तरको जनसम्पर्क सल्लाहकारमा नियुक्त घिमिरे नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति अध्यक्ष पनि हुन्।

मुख्यमन्त्री कार्कीले प्रेस सल्लाहकारमा पत्रकार देवनारायण साहलाई नियुक्त गरेका छन्। इञ्जिनियर खगेन्द्र कर्ण प्राविधिक सल्लाहकारमा नियुक्त भएका छन्।

मुख्यमन्त्री कार्कीले प्रमुख स्वकीय सचिवमा कृतिभुषण बस्नेतलाई नियुक्त गरेका छन्।

कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मुख्यमन्त्रीको सचिवालयतर्फका आवास तथा कार्यालय सहयोगीसहित ९ जनाको नाम सार्वजनिक गरेको छ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार सचिवालयका सात जनाले असोज २८ गते नै नियुक्ति पाएको पाएका छन्। थप एक जना कर्मचारीलाई भने कात्तिक १ गते नियुक्त गरिएको छ ।

यसैगरी स्वकीय सचिवमा दिवश राजवंशी, आवास सहयोगी रेनुका पण्डित, कार्यालय सहयोगी बिक्रम राजवंशी र हलुका सवारी चालकका रुपमा अशोक राजवंशी असोज २८ गते नै नियुक्त भएका हुन् । सूचना प्रविधि सहायकका रुपमा नियुक्त भएका खेमराज सापकोटा भने कात्तिक १ गतेदेखि नियुक्त भएका हुन्। उनी पनि पत्रकार नै हुन्।

मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐन, २०७५ लाई आधार बनाएर निर्मित कार्यविधिअनुसार मुख्यमन्त्रीको सचिवालयमा प्रमुख स्वकीय सचिव १ जना, स्वकीय सचिव १ जना, राजनीतिक सल्लाहकार १ जना, आर्थिक सल्लाहकार १ जना, प्रेस सल्लाहकार १ जना, सूचना प्रविधि विज्ञ १ जना र हलुका सवारी चालक र कार्यालयसहित आवास सहयोगी दुई–दुई जना नियुक्त गर्ने सकिने प्रावधान छ।

सम्बन्धित खबर