काठमाडौं । कच्चा तेलको ट्यांकर बोकेको २५ भारतीय चालक दलका सदस्य सवार पानीजहाजलाई लाल सागरमा हुथी विद्रोहीले ड्रोन आक्रमण गरेको बताइएको छ ।
ड्रोन ठोक्किएपछि उक्त कच्चा तेलको ट्यांकरले सोही क्षेत्रमा रहेको अमेरिकी युद्धपोतलाई आपतकालीन फोन गरेको अमेरिकी सेनाले जनाएको छ ।
ग्याबोनको स्वामित्वमा रहेको एमभी साइबाबा नाामक ट्यांकरमा आक्रमणबाट कुनै क्षति भने नभएको र जहाजमा रहेका २५ भारतीय सकुशल रहेको अमेरिकी केन्द्रीय कमाण्डले पुष्टि गरेका छन् ।
यसअघि आज अमेरिकी सेन्ट्रल कमाण्डले हुथी विद्रोहीको आक्रमणमा परेका दुईवटा युद्धपोतमध्ये एउटा भारतको झन्डा भएको दाबी गरेको थियो ।
यद्यपि, भारतीय नौसेनाले एक विज्ञप्ति जारी गर्दै त्यसमा ग्याबोन झन्डा भएको र जहाजले भारतीय ढुवानी दर्ताबाट प्रमाणीकरण प्राप्त गरेको बताएको हो ।
यसबीच शनिबार नै हिन्द महासागरमा इरानबाट प्रक्षेपण गरिएको ड्रोनले एक रासायनिक ट्यांकरमा आक्रमण गरेको अमेरिकी सेनाले जनाएको छ ।
पेन्टागनले केम प्लुटो जहाज भारतको तटबाट करिब ३७० किलोमिटर टाढा रहेको स्थानीय समयअनुसार बिहान १० बजे आक्रमण भएको बताएको छ ।
आक्रमणपछि जहाजमा लागेको आगो निभाइएको र कुनै हताहत हुनबाट जोगिएको बताइएको छ ।
इजरायलले गाजामा गरिरहेको आक्रमणलाई लिएर रुस्ट यमनमा रहेका इरान समर्थित हुथी विद्रोहीले लाल सागरबाट यात्रा गरिरहेका जहाजमा ड्रोन र रकेट आक्रमण गरिरहेका छन् ।