भोजपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार धेरै चल्ने र टिक्नेवाला नभएको बताएका छन् ।
भोजपुरमा भएको कार्यक्रममा बोल्दै उनले यो सरकार कथम कदाचित अगाडि बढे देशलाई दुर्भाग्य हुने पनि बताए । उनले भने, ‘यो कुहिएको फलजस्तो भएको छ, यसलाई झारेन भने पनि आफै झर्छ । यो सरकार कुनै हालतमा पनि अगाडि बढ्न सक्ने अवस्थामा छैन ।’
एमाले अध्यक्ष ओलीले वर्तमान सरकारबाट केही नहुने पनि औंल्याए । उनले एमालेलाई सिद्ध्याउँछु मार्छु भन्ने सपना भङ्ग गर्नसमेत आग्रह गरे ।
अध्यक्ष ओलीले गठबन्धन सरकारमा रहेका दलहरू कसरी एमालेलाई कमजोर बनाउने भनेर लागेको भन्दै एमालेसँग एक्लै लड्ने त के हेर्न पनि नसक्ने अवस्थामा अन्य दलहरू रहेको दावी गरे ।
एमालेसँग एक्लै कोही लड्न नसक्ने भएकाले कसैले दाहिने हात कसैले देब्रे हात कसैले जिउ समात्ने, कोही कम्मरमा समाएर पछार्न खोजेको अध्यक्ष ओलीको कटाक्ष थियो ।
उनले भने, एमालेलाई सिद्ध्याउँछु भनेर हातको छेउमा आए मुक्का खाने, खुट्टाको छेउमा आए कच्याककुचुक हुने किसिमको एमालेले त्यो स्ट्रेन्थ बनाउनु पर्छ । मिसन ८४ मा एमालेले बहुमत नल्याए देशको अस्तित्व नै सङ्कटमा पर्ने उनको कथन छ ।
अध्यक्ष ओलीले भने, ‘एमालेले बहुमत नल्याए देश धेरै अप्ठेरो अवस्थामा जानेछ । देशमा वर्वाद भएको एमालेले हेरिरहन सक्दैन । गठबन्धन दलहरूबाट देशमा केही हुनेवाला छैन ।