२०८१ असोज ४, शुक्रवार , ०७:०७:३५ बजे

Sajhamanch
'

मुख्यमन्त्री शाहले इजरायली राजदूतलाई भनेः विपीनको बारेमा पत्ता लगाइदिनुस्

मङ्गलवार, मंसिर १९, २०८०

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र इजरायली राजदूत हानन गोडर गोल्डबर्गरबीच आज भेटवार्ता भएको छ। आज बिहान काठमाडौंमा मुख्यमन्त्री शाह र राजदूत गोल्डबर्गरबीच भेटवार्ता भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा इजरायलमा मारिएका नेपाली विद्यार्थी परिवारलाई राहत एवं क्षतिपूर्ति र वेपत्ता विद्यार्थी विपीन जोशीका सम्बन्धमा छलफल भएको मुख्यमन्त्री शाहका स्वकीय सचिव चन्द्र बिकले जानकारी दिए। त्यसक्रममा मुख्यमन्त्री शाहले सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएर मृत्युवरण गरेका विद्यार्थीका परिवारलाई उचित राहत र क्षतिपूर्ति प्रदान गर्न इजरायली राजदूतसँग आग्रह गरेका छन्।

‘मुख्यमन्त्री ज्युले इजरायली राजदुतसँग मृतक परिवारलाई भेटेर सान्त्वना दिन पनि आग्रह गर्नुभएको छ,’ स्वकीय सचिव विकले भने,‘वेपत्ता रहेका विपीनको सीघ्र उद्धारका लागि पहल गरिदिन पनि आग्रह गर्नुभएको छ।’

यस्तै फागुन २३ र २४ गते सुदूरपश्चिम सरकारले आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनमा पनि इजरायल सरकारबाट साथ, समर्थन र सहयोगको वातावरण निर्माणमा भूमिका खेलिदिन पनि मुख्यमन्त्री शाहले आग्रह गरेका छन्।

भेटमा राजदुत गोल्डबर्गरले नेपाली विद्यार्थीको मृत्युमा इजरायल सरकार अत्यन्त दुःखी रहेको बताउँदै उचित क्षतिपूर्तिका लागि तयार रहेको बताए। उनले विपीनको उद्धारमा पनि इजरायल सरकार गम्भीर रहेको प्रतिक्रिया दिएका थिए ।

सम्बन्धित खबर