
काठमाडौं । नेपाल सुपर लिग २०२३ मा सोमबार डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सले झापा एफसीको सामना गर्दैछ । दशरथ रंगशालामा हुने यो खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् ।
१. यो यसपल्टको प्रतियोगिताको १३ औं र समग्रमा ३८ औं खेल हुनेछ ।
२. झापा प्रतियोगिताका नवप्रवेशी टिम रहेको हुनाले यो काठमाडौंविरुद्धको पहिलो खेल हुनेछ ।
३. काठमाडौं दुई खेलबाट चार अंकसहित चौथो स्थानमा छ । काठमाडौंसँगै शीर्ष चारका टिम धनगढी एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स अपराजित रहेका छन् ।
४. झापाको दुई खेलबाट एक अंक छ र आठौं स्थानमा छ । उसको एक बराबरी र एक हार रहेको छ । झापा पहिलो जितको प्रयासमा रहनेछ ।
५. काठमाडौंले स्पोर्टिङ इलामलाई १–० ले हराएयता चितवनसँग १–१ को बराबरी खेलेको थियो । झापा भने पहिलो खेलमा इलामसँग पराजित रह्यो र त्यसपछि उसले पोखरासँग १–१ को बराबरी खेलेको थियो ।
६. काठमाडौं पछिल्ला चार खेलमा अपराजित रहेको छ । यसमा तीन जित र एक बराबरी रहेको छ । यसमध्ये दुई जित वर्ष ०७८ को संस्करणको हो । क्वालिफायर–२ र फाइनलमा प्राप्त जितसँगै काठमाडौं च्याम्पियन भएको थियो ।
७. यी चार खेलमा काठमाडौंले एकै गोल मात्र खाएको छ ।