२०८१ मंसिर १०, सोमवार , ०२:१७:३४ बजे

Sajhamanch
'

चारदिने युद्ध विराममा हमासले छाड्यो ६९ बन्दी, विपिनको अवस्था अझै अज्ञात

मङ्गलवार, मंसिर १२, २०८०

काठमाडौं । चारदिने युद्धविरामको अन्तिम दिन पनि हमासको नियन्त्रणमा रहेका भनिएका नेपालका विपिन जोशी रिहा भएनन् । यद्यपि, इजरायल र हमासबीच थप दुई दिनका लागि युद्धविराम गर्ने सहमति भएको छ ।

नेपाल सरकारले विपिन हमासकै नियन्त्रणमा रहेको बताउँदै आए पनि उनको अवस्थाबारे थप कुनै जानकारी आएको छैन । सोमबारसम्म हमासले ६९ बन्दीलाई रिहा गरिसकेको छ । तर, विपिनको अवस्थाबारे अझै थाहा हुन सकेको छैन ।

उनी अक्टोर ७ मा हमासले गरेको आक्रमणपछि सम्पर्कविहीन भएका थिए । तर, केही दिनअघि गाजास्थित अल–शिफा अस्पतालको एउटा सीसीटीभी फुटेज सार्वजनिक गर्दै इजरायली सेनाले त्यसमा देखिएकामध्ये एकजना नेपाली नागरिक रहेको बताएको थियो । तर, थप विवरण सार्वजनिक भएको छैन ।

सोमबार राति हमासले ११ जना इजरायली नागरिकलाई रिहा गरेको छ । उनीहरूमध्ये ९ जना बालबालिका र दुईजना बालबालिका हुन् ।

पहिलो दिन गएको शुक्रबार हमासले इजरायलका १३, थाइल्यान्डका १० र फिलिपिन्सका एक गरी २४ जनालाई रिहा गरेको थियो ।

दोस्रो दिन इजरायलका १३ र थाइल्यान्डका चारजनालाई छाडेको थियो ।

तेस्रो दिन आइतबार हमासले इजरायलका १३ जना, थाइल्यान्डका तीनजना र रुसका एकजना गरी १७ जनालाई छाडेको थियो ।

उता इजरायलले सोमबार राति ३० जना बालबालिका र तीनजना महिला गरी ३३ प्यालेस्टाइनीलाई छाडेको छ । चारनिने युद्धविरामका क्रममा इजरायलले कुल १५० प्यालेस्टाइनीलाई रिहा गरिसकेको छ । उनीहरूमध्ये अधिकांश बालबालिका र महिला हुन् ।

नेपाल सरकारले मध्यस्थकर्ताको भूमिकामा रहेको कतारसँग विपिनलाई छुटाउन पहल गरिदिन आग्रह गरेको थियो । गएको शुक्रबारमात्र प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री एनपी साउदसहित सरकारी अधिकारीहरूले नेपाल भ्रमणमा आएका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखीसँग विपिनको सकुशल रिहाइमा सघाउन आग्रह गरेका थिए ।

सम्बन्धित खबर