
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आज झापामा छन् विर्तामोडमा रहेको इकम कलेजले आफ्नो प्राङ्गणमा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न भन्दै उनी हिजो झापा पुगेका हुन्।
शालिक अनावरण भनिएपनि लामो समय राजतन्त्र र हिन्दुराष्ट्रको वकालत गर्दैआएको पुर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को योजनामा पूर्वराजा शाह झापा पुगेको बताइन्छ।जहाँ राप्रपाले आफ्नो शक्ति प्रदर्शन गर्ने योजना बनाएको छ।
पूर्वराजा शाह हिजो काठमाडौंबाट झापा पुगेर होटल मेची क्राउनमा बसेका छन्। होटलमा बस्दा हिजोदेखि नै उनले आफ्ना केही समर्थकसँग भेटघाट गरिरहेका छन्। दिउँसो खानापछि होटलबाट कार्यक्रमस्थलतर्फ प्रस्थान हुनेछन्। मेची क्राउन र इकम कलेजबीच ११ किलोमिटर दुरी रहेको बताइएको छ।
यही बाटोमा राप्रपाले शक्तिप्रदर्शनसहित मोटरसाइकल र्याली गर्ने जनाएको छ। जसमा सातहजारभन्दा बढी मोटरसाइकल प्रयोग हुने राप्रपाको दाबी छ।
कार्यक्रमस्थल पुग्दा सडकमा नागरिकहरूले स्वागत गर्ने कार्यक्रम रहेको जानकारी आएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए। पोखरेलका अनुसार आयोजकले पार्टीको झण्डा नभई राष्ट्रिय झण्डा प्रयोग गर्ने जनाएका छन्। ‘हामीलाई पूर्वराजाबाट सम्बोधन गर्ने भन्नेबारे जानकारी आएको छैन,’ उनले भने, ‘नागरिकसँग भेटघाट गर्दा सामान्य कुराकानी गर्नुहोला। शालिक अनावरण गर्ने कार्यक्रम त्यस्तै २० मिनेटजति चल्ला भन्ने कुरा आएको छ।’
शालिक अनावरण कार्यक्रम सकेर दिउँसो नै पूर्वराजा शाह दमकस्थित आफ्नो निवासमा फर्किने बताइएको छ। प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार पूर्वराजा शाह आइतबार मात्रै काठमाडौं फर्किने कार्यक्रम छ।
यता मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले गणतन्त्र, संघीयता, धर्म निरपेक्षताको विरोध गर्दै तीनदिन देखि प्रदर्शन गरिरहेको छ।आफूले हजारौं मान्छे उतारेर प्रदर्शन गरिहरँदा पूर्वराजा शाह झापा गएको भन्दै प्रसाईं समूह असन्तुष्ट छ।