२०८१ मंसिर १२, बुधवार , ०२:१९:२२ बजे

Sajhamanch
'

व्यवसायी राजकुमार अग्रवालको ७२ वर्षको उमेरमा निधन

बुधवार, कार्तिक २२, २०८०

बिर्तामोड । झापाको पुरानो व्यावसायिक प्रतिष्ठान ‘रामप्रसाद पवनकुमार’का सञ्चालक तथा झापा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजकुमार अग्रवाल ’भद्रपुरे’को ७२ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

केही समययता अस्वस्थ रहेका अग्रवालको बिर्तामोडस्थित बि एण्ड सी हस्पिटलमा उपचारका क्रममा आइतबार राति निधन भएको उनका भतिजा सन्तोष अग्रवालले जानकारी दिएका हुन् ।

उद्योग–वाणिज्य क्षेत्रका अग्रज एवम् अनुभवी अग्रवाल सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय थिए । भद्रपुर गौशालाको सचिवलगायत विभिन्न सामाजिक तथा शैक्षिक संघ–संस्थामा समेत नेतृत्व तहमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका अग्रवाललाई रक्तचाप र मुटुसम्बन्धी समस्या थियो ।

झापाका अगुवा व्यवसायी स्व. अग्रवालका चार छोरामध्ये जेठा मनोज नेपाल रेडक्रस सोसाइटी विर्तामोड उपशाखाको सभापति र रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको जिम्मेवारीमा छन् । माइला छोरा सञ्जय मारवाडी सेवा समिति बिर्तामोडको सदस्य हुन् । साइँला छोरा अजय लायन्स क्लब अफ दमकको पूर्व अध्यक्ष तथा विभिन्न सामाजिक संघ–संस्थाहरुमा सक्रिय छन् भने कान्छा छोरा विनय विनायक इन्टरप्राइजेजका सञ्चालक हुन् ।

स्वर्गीय राजकुमार अग्रवालका दाजुभाइहरु रामअवतार, डा. पवनकुमार (कनाडा) र सामाजिक व्यक्तित्व सुरेशकुमार अग्रवाल ’भद्रपुरे’ छन् । यस्तै, भतिजाहरु सन्तोष भेराइटिजका प्रोप्राइटर सन्तोष अग्रवाल, चार्टर्ड एकाउन्टेन्ट सुशील अग्रवाल लगायत छन् ।

हाल झापाको बिर्तामोडमा बस्दै आएका स्व. अग्रवालको सोमबार अपरान्ह पवित्र कनकाई नदीमा दाहसंस्कार गरिएको र त्यहाँ जिल्लाका उद्योगी–व्यवसायी एवम् समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरुले श्रद्धाञ्जलि अर्पण गरेका थिए । स्व. अग्रवालको जन्म २००८ साल माघ २४ गते भएको थियो ।

सम्बन्धित खबर