![](https://sajhamanch.com/wp-content/uploads/2023/11/371514752_250965347977706_7992467984686617773_n-1699336018.jpg)
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसले ५० लाख रुपैयाँ सहयोग जम्मा गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितको पदाधिकारीहरूको एक प्रतिनिधि मण्डलले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटेर चेक हस्तान्तरण गरेको हो।
कांग्रेसले भूकम्प पछिको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि ९ बुँदे सुझाव पेश गर्दै सरकारको ध्यानाकर्षण पनि गराइएको छ ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विगतका राम्रा अनुभवहरूको अनुसरण गर्ने बताए। उनले खोज र उद्धारको पहिलो चरणको कार्य सफलतापूर्वक सम्पन्न भएको बताउँदै अब राहत र पुनर्निर्माणको दोस्रो चरणको कार्यमा द्रुतगतिमा लाग्नुपर्ने बताए।
‘हिजो मात्र दुबै छिमेकी राष्ट्रका राजदूतहरूलाई छुट्टाछुट्टै बोलाएर राहतका लागि कुरा भएको छ। उहाँहरूले राहतका लागि आफूहरूले सुरुवात गरेको बताउनुभयो। यसरी सबैतिरबाट आर्थिक र अन्य सहयोगहरू आउने क्रम जारी छ,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा भूकम्प लगायतका अन्य प्राकृतिक प्रकोपका लागि स्थानीय तहमा स्टोरको व्यवस्था गर्ने, भूगोलको अध्ययन गरेर एकीकृत बस्तीको मापदण्ड तोक्ने लगायतका कार्यका बारेमा छलफल भएको बताए।
त्यसैगरी नेकपा (एकीकृत समाजवादी)ले पनि २५ लाख रुपैयाँ सहयोग गरेको छ। पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरू सहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई बालुवाटारमा भेट गरी २५ लाखको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि हस्तान्तर गरेको थियो।