विराटनगर । कोशी प्रदेश कांग्रेस कार्यसम्पादन समितिको बैठकले पार्टी निर्णय विपरीत गरिएको निर्णय फिर्ता लिन सांसदहरूलाई आग्रह गरेको छ।
आज विराटनगरमा बसेको बैठकले पार्टी निर्णय विपरीत ८ जना सांसदले गरेको निर्णय फिर्ता लिन आग्रह गरेको कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले बताए।
यस्तै गठबन्धन दलले गरेको निर्णय कांग्रेसले पूर्ण रुपमा कार्यान्वयन गरी नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोलाई मुख्यमन्त्रीमा समर्थन गर्ने निर्णय पनि गरेको राईले जानकारी दिए।
माओवादी केन्द्रका इन्द्रबहादुर आङ्वोलाई गठबन्धनले कोशी प्रदेको मुख्यमन्त्री बनाउने निर्णय गरेपछि गठबन्धनले गरेको निर्णयको विरुद्ध नेपाली कांग्रेसका सांसद केदार कार्कीले एमाले र कांग्रेसका ७ जना सांसदको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्रीका लागि बिहीबार दाबी पेश गरेका थिए।