२०८१ मंसिर १५, शनिवार , १०:१७:०३ बजे

Sajhamanch
'

महिलाद्वारा सञ्चालित लखनपुर साना किसान कृषि सहकारीद्वारा साधारणसभामा सम्मान र पुरस्कार वितरण

सोमवार, असोज २२, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा नं. ६ स्थित लखनपुर साना किसान कृषि सहकारी संस्थाको १०औं वाार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

संंस्था सञ्चालक समितिका अध्यक्ष तिलरुपा बाँस्तोलाको अध्यक्षता साधारण सभा सम्पन्न भएको हो । उनले संस्थामा १ हजार ८८९ जना सदस्य रहेको र गत आर्थिक वर्षको कारोबार १९ करोड ७ लाख ९१८ रुपैयाँको रहेको जानकारी गराइन् ।

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यमा भएको साधारणसभा समारोहमा मन्तब्य राख्दै उनले महिलाहरुद्वारा संचालित संस्थाले कृषि र कृषिजन्य व्यवसाय प्रवर्धनमा खेलेको भूमिका सराहनीय रहेको बताए ।

स्थापनाका छोटो समयमा नै संस्थाले आफ्नै भवनमा कारोबार सुरु गरेकोमा बधाई दिँदै गाउँपालिका अध्यक्ष राईले संस्थाले कृृषि र पशुपालनको क्षेत्रमा कार्यक्रम गर्न चाहेमा गाउपालिकाको साथ र सहयोग रहने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने, वडा नं. ६ का अध्यक्ष नरेन्द्र भट्टराई, नेपाल कृषि सहकारी संघका उपाध्यक्ष मिना ढकाल, कृषि विकास शाखा प्रमुख महेन्द्र बोहोरा, कृषि सहकारी जिल्ला संघका सचिब भुपराज लुइटेल, वडा नं. ५ का सदस्य चन्द्रकला सुब्बा, संस्थाका सल्लाहाकार संयोजक बेनुप्रसाद सिवाकोटी लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले संस्थाको हालको प्रगतिका विषयमा प्रशंसा गर्दै यो बिषम परिस्थितिमा समेत संस्थाले सदस्यको आवश्यकतामा कति पनि कमि आउन नदिई दिएको सेवाको लागि धन्यवाद व्यक्त गरेका थिए ।

साधारणसभाको अवसरमा संस्थामा उत्कृष्ट कारोबार गर्ने ३१ जना सदस्य, ४ वटा समुहलाई पुरस्कार प्रदान गरिएको थियो । यसैगरी संस्थाका सदस्यका छोराछोरीहरुले सामुदायिक विद्यालयबाट एसईई र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने ४ जना छात्राछात्रालाई पुरस्कृत गरिएको थियोे ।

संस्थाले आर्थिक वर्ष २०७९÷०८० मा ६२ लाख ११ हजार ११५ रुपैयाँ नाफा आर्जन गरेको संस्थाका प्रबन्धक टंकप्रसाद पराजुलीले जानकारी दिए । यस्तै संस्थाले सदस्यलाई ९ दशमलव ६५ प्रतिशतका दरले शेयर बोनस र सक्रिय कारोबारी सदस्यहरुलाई संरक्षित पूँजी फिर्ता कोष मार्फत कारोबारका आधारमा ६ प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

संस्थाका उपाध्यक्ष शोभादेवी उप्रेतीले शाब्दिक स्वागत गरेको कार्यक्रम संस्थाका प्रबन्धक टंकप्रसाद पराजुलीले सञ्चालन गरेका थिए ।

सम्बन्धित खबर