झापा । स्थानीय तह कर्मचारी संघर्ष समितिले आज १९ गतेबाट आन्दोलनको सशक्त चरण सुरु गर्दै अत्यावश्यक बाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द (पेनडाउन) गरेर विरोधमा उत्रिएका छन् ।
संघीय निजामती सेवा विधेयकको विभिन्न दफाहरु कर्मचारीमैत्री नभएको भन्दै संशोधनको माग राखेर विरोधमा उत्रिएका स्थानीय तहका कर्मचारीले आजबाट पेन डाउन सुरु गरेका हुन् ।
कमल गाउँपालिका वडानम्वर ४ का सचिव पर्शु तिम्सिनाले संघर्ष समितिको निर्णयानुसार अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेर विरोधमा उत्रिएको बताए ।
संसदमा पेश हुन लागेको विधेयक स्थानीय तहका कर्मचारीको हक हित विपरित भएकोले संशोधन हुनुपर्ने माग राखेर असोज १६ गते देशभरका पालिका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई मागपत्र बुझाएका थिए ।
कर्मचारीहरुले केन्द्रीय सर्कुलर अनुसार यसअघि तीन दिनसम्म हातमा कालोपट्टी बाँधेर काम गरेका थिए । आजबाट देशभर अत्यावश्यक बाहेकका सेवा प्रवाह नगर्ने उनीहरुको निर्णय छ ।
संघीय निजामती सेवा ऐनको सट्टामा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने स्थानीय तहका कर्मचारीको माग छ ।