२०८१ पौष २६, शुक्रवार , ०८:२८:५० बजे

Sajhamanch
'

अमेरिकादेखि जापानसम्मका ४३ चित्रकारले दिक्तेलमा रंग्याउँदै छन् क्यानभास

शुक्रवार, असोज १९, २०८०

काठमाडौं । मनसुन लम्बिएकाले अझै राम्ररी घाम लाग्न सकेको छैन। आकाश केही उघ्रिएको त छ। तर, खोटाङ सदरमुकाम दिक्तेल वारिपारि घामले आङ तन्काउन पाएको छैन।

चारैतिर हुस्सुले घेर्दा रूपकोटबाट देखिने विश्वकै सर्वोच्च शिखर सगरमाथा (८ हजार ८४८.८६ मिटर), तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा (८ हजार ५८६ मिटर, चौथो अग्लो हिमाल ल्होत्से (८ हजार ५१६ मिटर) आदि हिमाल हेरेर पुलकित हुन पनि पाइएको छैन।

डम्म कुहिराले घेरेकै मौसममा १४ देशमा ४३ जना चित्रकारहरू खोटाङ सदरमुकाम दिक्तेलमा भेला भएका छन्।

शुभम फाउण्डेशन, रत्नपार्क, देवीथान, हाटडाँडा, हेलिप्याड आदि ठाउँमा फिँजारिएर आँखाले समेटेजत्ति दृश्यहरू क्यानभासमा उतार्न तल्लिन छन्।
अस्ट्रेलिया, बंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लात्भिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन, भियतनाम र नेपालका नामी चित्रकारहरू त्यहाँ भेला भएका छन्। चित्ताकर्षक प्राकृतिक छटाहरूलाई कुचीले क्यानभासमा रंग्याइरहेका छन्। उचित रङ र कलाको संयोजनबाट चित्रकारितामा नवीन आयाम थपिरहेका छन्।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ती ख्याती प्राप्त चित्रकारहरूलाई खोटाङ सदरमुकामा जमघट गराएको हो।

‘हामी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको अनुपमसुन्दरतालाई विश्वको आँखामा पुर्‍याउन चाहन्थ्यौं। भौगोलिक विषमतामा बाँचिरहेको यहाँको भूगोललाई विश्वको क्यानभासमा कसरी उतार्ने होला भनेर सोचमग्न पनि थियौं,’ नगर प्रमुख तीर्थराज भट्टराईले भने, ‘विश्वविख्यात चित्रकारहरूलाई उतारेर उनीहरूको क्यानभासमा जीवन्त ढंगले उतार्न सके हाम्रो इच्छा पूरा हुने सोचेर लाइभ पेन्टिङ राखेका हौं।’

१४ देशका नामुद चित्रकारहरू बुधबार (असोज १७ गते) दिक्तेलमा भेला भएका हुन्। बिहीबार उनीहरूले त्यहाँको रहनसहन, जीवनशैली र मौलिक–परम्परागत जीवनयापनका सरसामग्री (ढिकी–जाँतो, जाल, ढडिया, फुर्लुङ, फिपी, घुर्रा आदि) हरू अवलोकन गरे।यसको ध्येय लोपोन्मुख अवस्थामा रहेका रहनसहनका सामग्रीहरूलाई विश्वको नजरमा पुर्‍याउनु रहेको नगर प्रमुख भट्टराईले बताए।

असोज २१ गतेसम्म चल्ने ‘चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’मा चित्रकारहरूले मूर्तरअमूर्त चित्रहरू उतार्नेछन्। आ-आफ्ना शिल्प प्रस्तुत गर्नेछन्। त्यसलाई अवलोकन गर्ने बन्दोवस्त पनि मिलाइएको नगर प्रमुख भट्टराईले बताए।

दिक्तेलको सामाजिक-सांस्कृतिक र प्राकृतिक वैभव देखेर पर्यटकहरू चकित परेको र त्यसिलाई क्यानभासमा उतार्न आतुर देखिएको उनले सुनाए।

‘यहाँबाट देखिने मनोरम हिमश्रृंखला, रहनसहन, कला र सामाजिक जीवनले पर्यटकहरू निकै हर्षित देखिनु भएको छ। जीवन्त सम्पदाको रूपमा रहेको यहाँको प्राकृतिक सुन्दरतालाई चित्रकलाको माध्यमबाट अझ सुन्दर तुल्याउँदै पनि हुनुहुन्छ। उहाँहरूले तयार पार्नु भएको चित्रलाई हामी प्रदर्शनी पनि गर्नेछौं,’ नगर प्रमुख भट्टराईले भने।

गत वर्ष नोभम्बरमा आफू जापान गएको र त्यहाँ आस्था प्रभा तुलाधर भेटेपछि दिमागमा चित्रकारिता कार्यशालाको अवधारणा आएको उनले बताए।

‘नगर प्रमुख निर्वाचित भएर आएदेखि नै यहाँको प्राकृतिक सुन्दरतालाई विश्वको आँखामा पुर्‍याउने र पर्यटन प्रवर्द्धन गर्ने थियो। तर, उपाय पहिल्याउन सकेको थिइनँ। गत वर्ष जापान गएको थिएँ,’ उनले भने, ‘त्यहाँ आस्था प्रभा तुलाधर भेटिएपछि यो अवधारणा आएको हो।’

तुलाधर नागोया विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध पढाउँछिन्। त्यसका अतिरिक्त नेपालको कला-संस्कृतिको प्रवर्द्धन पनि गरिरहेकी छन्।

उनले नै चित्रकारहरू बोलाएर कार्यशाला गर्न सुझाएपछि आफू उत्साहित भएको नगर प्रमुख भट्टराईले बताए।

‘मौसम नउघ्रँदा हिमश्रृंखला, वन–पाखा आदि प्राकृतिक छटाहरूलाई उहाँहरूले क्यानभासमा समेट्न पाउनु भएको छैन। तर, जति बनाउनु भएको छ, यहाँको सौन्दर्यलाई मुखरित गर्ने नै छ,’ भट्टराईले थपे।

कलाकारहरूले तयार पारेको चित्रलाई केही समय नगरपालिकामै प्रदर्शनीमा राखिने र डेढ महिनापछि काठमाडौंको आर्ट ग्यालरीमा प्रदर्शनी गर्ने तयारी रहेको उनले बताए।

‘उहाँहरूले सबै पेन्टिङ नगरपालिकालाई नै हस्तान्तरण गरेर जानुहुन्छ। यहाँ यस्ता-यस्ता प्रख्यात चित्रकार आउनुभएको छ, उहाँहरूको एउटै पेन्टिङ २ करोड रुपैयाँभन्दा माथि मूल्यमा बिक्री हुन्छ,’ उनले भने।

चित्रकारिताका माध्यमबाट पर्यटन पनि प्रवर्द्धन हुने र अर्कोतिर आर्थिक स्रोतको दायरा पनि बढ्ने हुँदा नगरपालिकाले दोहोरा लाभ आर्जन गरेको भट्टराईले बताए।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको चित्रकारिता कार्यशालाले मुन्धम ट्रेल विस्तार र प्रवर्द्धनमा पनि टेवा पुर्‍याउने मैँयु-टेम्के-साल्पा-सिलिचोङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राईले बताए।

‘हामी विगत ६ वर्षदेखि मुन्धम ट्रेल विस्तार र यहाँको पर्यटन प्रवर्द्धनमा लागिपरेका छौं। उहाँहरूले जहाँ (रूपाकोट)मा चित्रकारिता कार्यशाला गर्दै हुनुहुन्छ, त्यहाँबाट मुन्धुम ट्रेलबाट देखिन हिमश्रृंखला र प्राकृतिक छटा देखिन्छ,’ उनले भने।

करिब १ सय ८ किलोमिटरको मुन्धुम ट्रेल खोटाङको साकेला गाउँपालिका-३ तावाभञ्ज्याङबाट सुरू भएर भोजपुरको साल्पासिलिछो गाउँपालिकामा पर्ने साल्पापोखरी सिलिचोङमा पुगेर टुंगिन्छ। यो पदमार्ग छिचोल्न ८ देखि १० दिन लाग्ने राईले बताए।

‘अहिले चित्रकारहरूलाई खोटाङको चखेवाभञ्ज्याङसम्म पुर्‍याउने तयारी पनि भइरहेको छ। त्यसो हुँदा मुन्धम ट्रेलको प्रवर्द्धन अझै हुन्छ,’ उनले भने।

सम्बन्धित खबर