२०८१ माघ २५, शुक्रवार , ०२:५८:५२ बजे

Sajhamanch
'

एमाले कोशी अधिवेशनको तयारी पूरा, ५० जना प्रतिनिधि छनोटमा विवाद

बिहिवार, असोज ११, २०८०

विराटनगर । विराटनगरमा आयोजना गरिने नेकपा एमालेको पहिलो कोशी प्रदेश अधिवेशनको तयारी पुरा भएको छ । शुक्रबारबाट सुरु हुने अधिवेशनको तयारी पुरा भएको हो । अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

दुई दिनसम्म सञ्चालन हुने अधिवेशनको तयारी पुरा भएको प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपानेले बताए । तर प्रतिनिधि छनोटको विवाद भने कायम नै छ । पालिका र जनवर्गीय संगठनबाट ९९७ जना प्रतिनिधि छनोट भएर विराटनगर आइपुगेका छन् ।

५० जना प्रतिनिधिको छनोट बाँकी छ । पार्टी कमिटीले मनोनित गर्ने ५० जना प्रतिनिधि छनोटको टुङ्गो लागिनसकेको उनले बताए । छनोट गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।

मनोनित भए अधिवेशनमा सहभागि हुने प्रतिनिधिको संख्या १०४७ हुनेछ । प्रदेश कमिटीले प्रतिनिधि छनोट गर्दा एक पक्षीय हुने र विवाद हुने देखिएपछि यो प्रकिया रोक्न आग्रह गरिएको एमाले मोरङका एक नेताले बताए ।

अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटी बन्नेछ । अधिवेशनमा सर्वसम्मत नेतृत्व छनोटको प्रयास हुने अध्यक्ष न्यौपानेले बताए । सहमति नभए निर्वाचन हुने उनले बताए । निर्वाचन हुँदा प्यानल भने बनाउन निषेध गरिएको उनको भनाई छ ।

अधिवेशनका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रदेश इञ्चार्ज रघुवीर महासेठले अधिवेशनले पार्टीको आन्तरिक जीवन व्यवस्थित गर्ने र मुलुकको समस्या समाधान पहल गर्ने बताए ।

नेकपा एमाले भित्र विवाद सृजना गरेर कमजोर बनाउनका लागि देशी र विदेशी शक्ती सक्रिय भएर लागि परेको उनले बताए । उनले पार्टी भित्र नेतृत्वका विषयमा कुनै विवाद नरहेको बताए ।

सम्बन्धित खबर