२०८१ कार्तिक २९, बिहिवार , ०८:४०:३७ बजे

Sajhamanch
'

एनएमसीमा उपसमितिहरुलाई अभिमुखीकरणः आज बिर्तामोडमा सम्पन्न

बिहिवार, भदौ २१, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)का उपसमितिहरुमा जिम्मेवारी दिइएका संयोजक तथा सदस्यहरुलाई आज बिर्तामोडमा क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ ।

बिर्ता–अर्जुन क्षेत्रीय समन्वय उपसमितिका संयोजक तथा सञ्चालक समितिका सदस्य हरिप्रसाद आचार्यको अध्यक्षतामा सो तालिम सम्पन्न गरिएको हो । बिर्तामोडमा आयोजित समिति उपसमिति स्तरीय क्षमता अभिवृद्धि कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटी, निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेती र प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले आ–आफ्ना विषयमा सहजीकरण गरेका थिए ।

बिर्ता–अर्जुन क्षेत्रका १० वटा सेवा केन्द्रबाट ५१ वटा उपसमिति, विषयगत उपसमिति, ब्यवसायगत उपसमिति लगायतबाट सो कार्यक्रममा सहभागिता रहेको थियो ।

कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीले संस्था सञ्चालनमा समिति र उपसमितिको भूमिकाका विषयमा प्रकाश पारेका थिए । प्रारम्भिक सहकारी संस्थामा सञ्चालक समिति र लेखा समितिमात्रै समिति रहने र मातहत अरु सबै उपसमिति हुने उनले प्रष्ट पारे ।

एनएमसीमा ब्यवसायगत ५ वटा, भौगोलिकमा ४ तह र विषयगतमा ७ वटा उपसमितिहरु रहेको जनाउँदै अध्यक्ष सिवाकोटीले ती उपसमितिहरुको भूमिकाका विषयमा पनि सहजीकरण गरेका थिए ।

सो कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष उप्रेतीले संस्थाको नारा असल संस्कार र समृद्धिका लागि एनएमसीका विषयमा मसिनो गरी जानकारी गराए । पछिल्लो समय कतिपय सहकारी संस्थामा सञ्चालक र कर्मचारीको भागाभाग भयो रे भन्ने सुन्नुपर्नाको कारण नै उनीहरुमा असल संस्कार थिएन रहेछ भनी बुझ्न उनको सुझाव छ ।

‘संस्कार बिग्रियो भने संस्था धराशयी हुन कतिबेर पनि लाग्दैन’ निवर्तमान अध्यक्ष उप्रेतीले भने, ‘यसैले वित्तीय कारोबार गर्दा त्यहाँका मानिसहरुबारे पहिले नै बुझ्नपर्छ ।’

अर्का सहजकर्ता प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले संस्थाका योजना तथा कार्यक्रमहरु र त्यसको प्रभावकारी कार्यान्वयनका विषयमा प्रकाश पारेका थिए । एनएमसीले मूलतः सामुदायिक सरोकारको क्षेत्र र बचत तथा ऋण ब्यवसायको लागि योजनाहरु बनाएको उनको भनाई छ ।

सामुदायिक सरोकारको क्षेत्र अन्तरगत सदस्य, तिनको परिवार र समुदायको प्रवर्धनका लागि विभिन्न रचनात्मक कामहरु भइरहेको उनको भनाई छ । सुत्केरी तथा नवजात शिशु भेटघाट, मृत्य राहत कोषमा सहभागिता, समवेदनामा उपस्थिति र मृत्यु राहत भुक्तानी, सदस्य ट्याग वितरण, सरसफाई सचेतना जस्ता सामुदायिक कामहरु भइरहेको उनले जनाए ।

यस्तै बचत तथा निक्षेप र कर्जाको विभिन्न पक्षका बारेमा तयार पारिएका योजनाहरु बारे प्रमुख कार्यकारी अधिकृत उप्रेतीले प्रकाश पारे ।

बिर्ता–अर्जुन क्षेत्रीय उपसमितिका संयोजक धर्मानन्द गुरागाइले शाब्दिक स्वागत गरेको कार्यक्रमको सञ्चालन क्षेत्रीय प्रमुख प्रकाश सुवेदीले गरेका थिए । सो अभिमुखीकरण कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक रचना दाहाल, सञ्चालक समितिका सहसचिव अम्बिकाप्रसाद ढकाल लगायतले बोलेका थिए ।

समिति तथा उपसमितिका लागि आयोजित अभिमुखीकरण तालिम सातवटै क्षेत्रमा सञ्चालन गरिने कार्यतालिका बनाइएको छ ।

सम्बन्धित खबर