![](https://sajhamanch.com/wp-content/uploads/2023/08/Uddav-thapa-e1692622715433.jpg)
विराटनगर । मुख्यमन्त्री उद्धव थापाले उपसभामुख सृजना दनुवारका कारण सभाध्यक्षले विश्वासको मत दिनुपर्ने अवस्था आएको बताए । यो घटना वैधानिक हो वा होइन उपसभामुखले जवाफ दिनुपर्ने बताए ।
सोमबार मुख्यमन्त्री थापाले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा सभाको अध्यक्षता गरिरहेका कांग्रेसका प्रदेशसभा सदस्य इस्राइल अन्सारीले पनि पक्षमा मतदान गरेका थिए । प्रदेशसभाबाट थापाले विश्वासको मत पाएको घोषणा भएपछि पत्रकारहरुले उनलाई यो वैधानिक हो कि होइन भनी प्रश्न गरेका थिए ।
जवाफमा थापाले यो परिस्थिति उपसभामुखका कारण सिर्जना भएको बताए । कोशीमा हाल सभामुख छैनन् त्यसैले बैठक सञ्चालनको जिम्मेवारी उपसभामुख दनुवारको हो । एमालेबाट निर्वाचित दनुवार सोमबार विहान स्वास्थ्यको कारण देखाउँदै काठमाडौं गइन् । उनले बैठक सञ्चालनको जिम्मेवारी कांग्रेसबाट निर्वाचित इस्राइल मन्सुरीलाई तोकिन् ।
मुख्यमन्त्री थापाले उपसभामुखले मन्सुरीको अधिकार कुण्ठित गरेको आरोप लगाए ।
‘उहाँ यो प्रदेशसभाको सभामुख पनि होइन, उपसभामुख पनि होइन तोकिएको व्यक्ति हो । उहाँको मत दिने अधिकार प्रदेशसभाभित्र छ कि छैन ?’ थापाले प्रश्न गरे, ‘उहाँको मत दिने अधिकारलाई कुण्ठित गरेर सभामुख तोकेर उपसभामुख भाग्न मिल्छ रु उपसभामुख भाग्नुभएको छ । यो परिस्थिति निर्माण गर्ने काम उपसभामुखले गर्नुभएको छ, उहाँले जिम्मेवारी लिनुपर्छ ।’
थापाले अगाडि भने, ‘यो वैधानिक कि अवैधानिक भन्ने ब्याख्या उहाँले गर्नुपर्छ । उहाँले विश्वासको मत लिनका लागि समय दिने, आजका लागि बैठक तोक्ने अनि प्रदेशसभा सदस्यलाई सभामुख तोकेर उहाँ सभा छाडेर हिँड्ने ?’
उपसभामुखले प्रदेशसभाका ज्येष्ठ सदस्य र अध्यक्ष मण्डलका सदस्यको विदा स्वीकृत गराएर प्रदेशसभा नै सञ्चालन हुन नसक्ने अवस्था सिर्जना गरेको थापाले आरोप लगाए ।
‘ज्येष्ठ सदस्य र प्यानलका सदस्यलाई पनि छुट्टी बस्न लगाएर अनि प्रदेशसभा खाली गरेर हिँड्ने, हामीले प्रदेशसभाको औचित्यलाई स्थापित गर्यौं प्रदेशसभाको वैधानिकतालाई बचाउने काम गर्यौं’ उनले भने ।