२०८१ माघ १३, आइतवार , ०९:१३:१५ बजे

Sajhamanch
'

स्पेनलाई हराएसँगै समूह विजेता बन्दै जापान नकआउट चरणमा

सोमवार, साउन १५, २०८०

काठमाडौं । फिफा महिला विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा स्पेनविरुद्ध ४–० को फराकिलो जित निकाल्दै जापान समूह ‘सी’को विजेताको रुपमा प्रि–क्वार्टरफाइनल प्रवेश गरेको छ ।

न्युजिल्यान्डको वेलिङटन क्षेत्रीय रंगशालामा सम्पन्न खेलमा स्पेनविरुद्ध सहज जित दिलाउन जापानकी हिनाता मियाजावाले दुई गोल गर्दा रिको युइकी र मिना तानाकाले समान एक गोल गरे ।

खेलको अधिकांश समय बलमाथि नियन्त्रण राखे पनि स्पेनले जापानको जब्बर रक्षापंक्ति तोड्न सकेन । पोसेसन फुटबलमा जोड नदिए पनि स्पेनविरुद्ध जापानको फिनिसिङ उत्कृष्ट रह्यो ।

१२औँ मिनेटमा मियाजावाको गोलमा जापानले स्पेनविरुद्ध अग्रता बनाएको थियो । २९औँ मिनेटमा युइकीले गोल गर्दै जापानको अग्रता दोब्बर पारिन् । ४०औँ मिनेटमा मियाजावाले व्यक्तिगत दोस्रो गोल गरेपछि जापानले पहिलो हाफमै स्पेनविरुद्ध ३–० को सहज अग्रता बनाएको थियो ।

यस्तै, खेलको निर्धारित समय सकिन आठ मिनेट बाँकी रहँदा तानाकाले गोल गरेपछि जापानले ४–० को जित निश्चित गर्यो ।

जितसँगै समूह विजेता बनेको जापानले तीन खेलबाट तीन जितसहित नौ अंक जोड्यो । जापानसँगको हारले समूह उपविजेता बनेको स्पेनले ६ अंक जोड्दै अन्तिम–१६ को यात्रा तय गर्यो ।

जापानले अब क्वार्टरफाइनल प्रवेशका लागि समूह ‘ए’को उपविजेता नर्वेसँग प्रतिस्पर्धा गर्नेछ । अन्तिम–१६ मा समूह ‘सी’को उपविजेता स्पेनले भने समूह ‘ए’को विजेता स्विट्जरल्यान्डविरुद्ध खेल्नेछ ।

सोमबार नै भएको समूह ‘सी’को अर्को खेलमा जाम्बियाले कोस्टारिकाविरुद्ध ३–१ को जित निकाल्दै प्रतियोगिताको सुखद् अन्त्य गर्यो । यसअघिका दुई खेलमा हार बेहोरेका कारण नकआउट चरणमा प्रवेश गर्ने सम्भावना समाप्त भइसकेको जम्बियाको सुखद् अन्त्यमा लुसोमो वेम्बा, बार्बा बान्दा र रचेल कुन्डानान्जीले एक–एक गोल गरे । कोस्टारिकाकी डाफ्ने मेलिसा मोन्गेले एक गोल फर्काए पनि टिमको हार टार्न भने सकिनन् ।

जितसँगै समूह ‘सी’को तेस्रो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको जाम्बियाले तीन अंक जोड्यो । पुछारमा रहेको कोस्टारिका भने अंकविहीन रह्यो ।

सम्बन्धित खबर