२०८१ मंसिर ९, आइतवार , ०६:३०:५५ बजे

Sajhamanch
'

प्रलोभनमा परेर थाइल्याण्ड र म्यानमार नजान परराष्ट्र मन्त्रालयको आग्रह

शनिवार, साउन १३, २०८०

काठमाण्डौ । परराष्ट्र मन्त्रालयले झुटा आश्वासन र प्रलोभनमा परेर वैदेशिक रोजगारीका लागि थाइल्याण्ड र म्यानमार नजान आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर पछिल्लो समय थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधि (आईटी) क्षेत्रमा आकर्षक रोजगारी र सुविधाको प्रलोभन देखाएर नेपालीलाई म्यानमारको कायिन प्रान्तको म्यावडी लगेर बन्धक बनाई अवैध काम गर्न बाध्य बनाइएको भन्दै सचेत रहन आग्रह गरेको हो ।

मन्त्रालयले वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा लगेर अलपत्र पार्ने एवं नेपाल सरकारको प्रचलित कानूनअनुरूप निषेध गरिएका कार्यमा संलग्न गराउने कार्य दण्डनीय भएकाले यस्ता गैरकानूनी काम नगर्न र यसतर्फ सचेत रहन सबैमा अनुरोध समेत गरेको छ ।

यस्तै, विभिन्न प्रलोभनमा परी जाने नेपालीलाई गैरकानूनी रूपमा थाइल्याण्डबाट स्थलमार्ग हुँदै म्यानमार लैजान र रोजगारदाताले नेपाली राहदानीसमेत जफत गरी दैनिक १२ घण्टासम्म अनलाइन ठगीलगायत गैरकानूनी काममा लगाउने गरेको भेटिएको पनि मन्त्रालयले जनाएको छ ।

विदेशमा रोजगारी गर्न जाँदा पर्यटकरभिजिट भिसामा नगई श्रम स्वीकृति लिएर, सम्बन्धित कार्यालय तथा विदेशको नेपाली नियोगसँग सम्पर्क गरी रोजगारदाता कम्पनी र रोजगारीको बारेमा बुझ्न पनि अनुरोध गरेको छ । मन्त्रालयले नक्कली रोजगारीका विज्ञापन प्रायः सामाजिक सञ्जालमा आउने गरेका र यस्ता झुटा आश्वासनमा नपर्न समेत सचेत गराएको छ ।

म्यानमारमा पुगेर बन्धक बनाइएका तथा अलपत्र परेका नेपालीले आफ्नो उद्धारका लागि आफन्तजन र नेपाली राजदूतावास बैँकक तथा याङ्गुनमा सम्पर्क गर्ने गरेको पाइएको छ । नेपाली दूतावासले स्थानीय सरकारसँग समन्वय गरी केही सङ्ख्यामा नेपालीको उद्धार गरिसकेको र थप नेपालीको उद्धार गर्ने प्रयास भइरहेको बताएको छ । म्यानमार द्वन्द्वग्रस्त क्षेत्र भएकाले उद्धारमा चुनौती हुने गरेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर