काठमाडौं । देशका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोसी, वाग्मती तथा गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोसी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भइरहेको छ ।
सुनसरी र मोरङमा भारी वर्षा भइरहेको छ । सुनसरीको इटहरी, मोरङको लेटाङ, हरैचा, कानेपोखरी र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुनसारी खोला, लोहन्द्रा खोला, चिसाङखोलालगायत आसपासका साना खोलामा आकस्मिक बाढीका साथै होचा स्थानमा डुवान हुनसक्ने महाशाखाले जनाएको छ । बिहान ११ बजेसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।