![](https://sajhamanch.com/wp-content/uploads/2023/07/Accident-Balero-pick-up-van.webp)
कानेपोखरी । मोरङको कानेपोखरीदेखि लेटाङ जोड्ने सडकअन्तरगत फारलाइनमा हिजो साँझ भएको सवारी दूर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
प्रदेश १–०२–००२ च ४१७३ नम्बरको बोलेरोले प्रदेश १–०२–०३ ह १३१२ टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालक र सो मा सवार एक बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा टेम्पो चालक कानेपोखरी गाउँपालिका वडा नं ६ का अन्दाजी ३५ वर्षीय सागर तामाङ र टेम्पोमा सवार सोही ठाउँकी ८ वर्षीया रोश्नी मगरको मृत्यु भएको हो ।
चालक तामाङको मंगलबारेस्थित मदन भण्डारी ट्रमा सेन्टरमा उपचारका लागि पुर्याउनसाथ मृत्यु भएको र रोश्नीको गोल्डेन अस्पताल विराटनगरमा राति पौने १० बजे मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
शुक्रबार साँझ करिब साढे ७ बजे लेटाङबाट कानेपोखरीतर्फ आउँदै गरेको यात्रु सवार टेम्पोलाई लेटाङतर्फ जाँदै गरेको बोलेरो पिकअप गाडीले ठक्कर दिँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त टेम्पोमा मृतक बालिका रोश्नीसहित उनकी आमा अन्दाजी ३५ वर्षीया टिका आले मगर रहेको र टिकाको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीको भनाई छ ।
बोलेरो र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।