२०८१ पौष ७, आइतवार , ०६:४४:४२ बजे

Sajhamanch
'

‘मध्यावधि रोक्ने भनेको गठबन्धन दलमा राप्रपाको प्रवेशले मात्र सम्भव छ’ : उद्धव थापा

बुधवार, असार २०, २०८०

कांग्रेस संसदीय दलका नेता, कोशी प्रदेश

कोशी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकारले विश्वासको मत गुमाएपछि नयाँ सरकार गठनको विषय अहिले बहसमा छ । ९३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ । यो समीकरण पुर्याउन दलहरूलाई सहज छैन ।

प्रदेशमा लोकतान्त्रिक वाम गठबन्धन भर्सेज एमाले–राप्रपा गठबन्धन छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपालको एउटा गठबन्धन छ । यो गठबन्धनसँग सभामुखसहित ४७ सांसद छन् । यस्तै, एमाले र राप्रपा गठबन्धनमा ४६ सांसद छन् । यो संख्या सरकार बनाउन पर्याप्त भएन ।

कोसीको सरकार बनाउन यतिबेला दलहरू काठमाडौंमा छन् । केन्द्रीय गठबन्धनको आधारमा कोसीमा सरकार बन्ने र केन्द्रले निर्देशन नदिएसम्म सरकार नबन्ने अवस्था छ । त्यसकारण वाम–लोकतान्त्रिक गठबन्धनका प्रदेशका नेताहरू संघीय नेतालाई गुहार्न र सरकार बनाइदिन माग गर्दै काठमाडौं पुगेका छन् ।

गठबन्धनका तर्फबाट कोसीमा सरकार बनाउन कांग्रेसका संसदीय दलका नेता उद्धव थापा लागिपरेका छन् । सोही क्रममा अहिले काठमाडौंमा रहेका थापासँगको कुराकानीः

तपाईंहरूको गठबन्धनमा सभामुखको टाउको गन्दा मात्र ४७ मत पुग्छ । एमाले–राप्रपासँग ४६ सांसद छन् । कसरी बनाउनु हुन्छ तपाईंहरू सरकार ?

सटिक प्रश्न उठाउनु भयो । परिस्थिति सहज छैन । राप्रपालाई साथमा लिएर जानुपर्ने हाम्रो बाध्यता छ । राप्रपासँग केन्द्रीय नेतृत्वले छलफल सुरू गरेको अवस्था छ । राप्रपा पनि मध्यावधि निर्वाचन चाहँदैन ।

राप्रपा कोसी प्रदेशको स्थायित्व समृद्धि र विकास चाहन्छ । त्यसका लागि मध्यावधि निर्वाचन बाधक हुन्छ र यसतर्फ हामी जाँदैनौं । त्यसका लागि नयाँ गठबन्धनमा जान तयार छौं भन्ने कुरा राप्रपाबाट आएको छ । गठबन्धनका शीर्ष नेता र राप्रपाका शीर्ष नेता छलफलमा बस्दैछन् भन्ने मैले सुनेको छु ।

तपाईं आफैले राप्रपासँग गठबन्धनको प्रस्तावसहितको संवाद गर्नुभएको छ कि छैन ?

हामीले आफ्नो तहबाट संवाद गरेका छौँ । गठबन्धनमा भएका सबै दलहरूले पनि संवाद गरेका छन् । अहिले राप्रपाको कुरा सकारात्मक नै आएको छ । एमालेसँगको गठबन्धन कायम राखेर राप्रपा जाँदा पनि एमालेले सरकार बनाउन सक्दैन । अस्ति पनि राप्रपाले एमालेलाई विश्वासको मत दिएकै हो । तर, सरकार त जोगिएन नि ।

दलहरूले बहुमत पुर्याउन नसके स्वभाविक हो, मध्यावधिमा प्रदेश जान्छ । यसले कसैलाई फाइदा गर्दैन । त्यसकारण मध्यावधिबाट जोगाउन राप्रपा यो गठबन्धनमा आउँछ भन्ने कुरा छ । यसमा शीर्ष नेता पनि सहमत छन् ।

मध्यावधि जानबाट राप्रपाले रोक्छ भनेर ढुक्क हुने ठाउँ छ ?

म त ढुक्क छु । कुनै पनि दल मध्यावधिको पक्षमा छैन । एमाले पनि मध्यावधि चाहँदैन । मध्यावधि रोक्ने भनेको गठबन्धन दलमा राप्रपाको प्रवेशले मात्र सम्भव छ । त्यसकारण यसमा शंका, उपशंका गर्नुपर्ने, पात्रहरूको विषयमा बहस गर्नुपर्ने अवस्था छैन ।

शीर्ष नेताहरू बसेर निर्णय गरे पुग्छ । केन्द्रमा जे निर्णय हुन्छ, हामी त्यसलाई शिरोधर गरेर हिँड्नुको विकल्प पनि छैन । बहुमत जुट्दैन र सरकार बन्दैन भन्नेतर्फ बहस गर्नु र शंका गर्नुपर्ने अवस्था म देख्दिनँ । ३० दिनभित्र पूर्ण बहुमतसहितको सरकार बन्छ ।

राप्रपाले साथ दिएन भने एमालेसँग सहकार्य हुन सक्छ ? केही तयारी भएको छ ?

हामी सबैको मुख्य उद्देश्य भनेको मध्यावधिबाट प्रदेशलाई रोक्नु हो । त्यसमा १० दलीय गठबन्धनको पहिलो प्राथामिकता राप्रपालाई सहमतिमा ल्याउनु हुन्छ । राप्रपा साथमा आउँछ भन्ने बुझाइ र निष्कर्ष पनि छ ।

यदि, राप्रपासँग सहकार्य हुन सकेन भने एमालेसँग मिलेर सरकार बनाउने कुरा पनि असम्भव विषय होइन । त्यो कोर्सबाट पनि प्रदेशको राजनीति अघि बढ्न सक्छ ।

प्रदेश पदाधिकारीको बैठक पनि बस्नुभयो काठमाडौंमै । के के निर्णय गर्नुभयो त ?

अहिले बन्ने कोसी प्रदेशको सरकारमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनोस् र दलको नेताको हैसियतमा सरकारको नेतृत्व गर्ने अवसर पाउनुपर्छ भन्ने कुरा भयो । यसका लागि पहल गर्ने निर्णय हामीले गरेका छौँ ।

प्रदेशका नेताहरु काठमाडौंमै हुनुहुन्छ, केही प्रगति भएको छ त ?

हामी प्रदेशबाट गर्ने कुरा केही छैन । गठबन्धनका शीर्ष नेताहरूको हातमा छ सबै विषय । जे निर्णय शीर्ष नेतृत्वबाट हुन्छ, हामी त्यसलाई मान्न तयार छौँ ।

प्रदेशका गठबन्धन दलहरूभित्र त्यो सहमति छ । त्यसलाई आधार बनाएर सहमतिको प्रयास भइरहेको छ । आजदेखि सरकार बनाउन छलफल र सहमतिको प्रयास गर्ने शीर्ष नेताहरूले भनेका छन् ।

मुख्यमन्त्री बन्नेमा आशावादी हुनुहुन्छ ?

कोसीमा हामी दोस्रो ठूलो दल हौँ । गठबन्धनभित्र पहिलो ठूलो दल हामी हो । यसकारण हाम्रो दाबी स्वभाविक छ । कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ । पावर सेयरिङ हेर्दा सभामुख माओवादीबाट हुनुहुन्छ । समाजवादी पार्टीले ६ महिनाअघि मात्र मुख्यमन्त्री पदबाट बाहिरिएको हो ।

अघिल्लो प्रदेशसभामा कांग्रेसले ३ जना मुख्यमन्त्रीलाई बोकेर हिँडेका हौँ । यी विविध कुरालाई समीक्षा गर्दा पहिलोपटक मै नेपाली कांग्रेसले कोशीमा नेतृत्व पाउनुपर्छ भन्ने हाम्रो अडान हो र विश्वास पनि । आधार पनि यही हो ।

हाम्रो पार्टीका सबै नेताहरू कांग्रेसले सरकार बनाउनुपर्छ भन्नेमा लाग्नुभएको छ ।

कोशीमा पनि आलोपालोकै सरकार बन्ने हो ?

अब बन्ने सरकार आलोपालोबाट बन्नुपर्छ, बनाइनुपर्छ भनेर हामीले भनेका छौँ । नेतृत्वले त्यो निर्णय गर्नुपर्छ र त्यो निर्णय सबै दल र पक्षबाट इमानदारिताका साथ पालना गर्नुपर्छ भन्ने हाम्रो स्पष्ट कुरा हो ।

त्यसरी नै जानुपर्ने हाम्रो बाध्यता पनि छ । किनभने, केन्द्रमा पनि त्यहीअनुरूपको गठबन्धन छ । दलहरूलाई ‘इन्ट्याक्ट’ राख्न पनि आलोपालो सरकार आवश्यक छ ।

सम्बन्धित खबर