२०८१ असोज ४, शुक्रवार , ०६:५०:३८ बजे

Sajhamanch
'

प्रदेशको पुनः नामांकन माग गर्दै साकेला उभौली सकिँदै

आइतवार, जेठ २८, २०८०

उदयपुर । प्रदेश १ को नाममाकरण पहिचान विरोधी राखिएको विरोधमा सांस्कृतिक विद्रोह गर्दै सुरु भएको किराँती समुदायको यस वर्षको साकेला उभौली (धिरीनामा ५०८३) विधिबत रुपमा समापन हुदैछ। वैशाख पूर्णिमाको दिन औपचारिक सुरु भएको उभौली १ महिनासम्म मनाएर समापन गर्ने गरिन्छ।

यस वर्षको उभौली सुरुदेखि अन्त्यसम्म प्रदेश नामांकन खारेज गरी पुनः नामाकरण गर्न माग गर्दै आन्दोलनको रुपमा मनाइयो।

फागुन १७ गतेको प्रदेशसभा बैठकले छापामार शैलीमा पहिचान विरोधी ‘कोसी’ नाम राखेको विरोधमा आन्दोलित प्रदेशवासी पहिचान पक्षधर राजनीतिक दलहरु र संघसंस्थाको आग्रह अनुसार उभौलीलाई आन्दोलनकै रुपमा मनाउने निर्णय गरिएको थियो। पूर्व घोषित निर्णय अनुसार यो वर्षको साकेला उभौली प्रदेशको पुनः नामाकरण गर्न माग गर्दै मनाइएको किरात राई यायोक्खा उदयपुरकी अध्यक्ष गंगा राईले बत्ताइन्।

यायोक्खाको केन्द्रीय निर्देशन, किरात याक्थुम चुम्लुङ, प्रदेश पुनः नामाकरण संघर्ष समिति, लिम्बुवान संघर्ष समिति, किरात याख्खा चुम्मा, नेपाल शेर्पा संघ, मगर संघलगायत डेढ दर्जन संघसंस्थाको आग्रह अनुसार यस वर्षको साकेला आन्दोलनकै रुपमा मनाइएको अध्यक्ष राईले बत्ताइन्। किराँती समुदायको भाषा, संस्कार संस्कृति र रहनसहनलाई ढोल झ्याम्टा बजाएर गीत गाउँदै नाचेर मनाइने साकेला महिना दिनसम्म मनाएर समापन गर्न थालिएको हो। जस अनुसार जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीयतहमा साकेला समापन कार्य सुरु भएको र यो साताभरीमा सबैतिर समापन हुने यायोक्खाले जनाएको छ।

प्रदेश १ को नाम पहिचान विरोधी राखेकोमा आन्दोलित पहिचान पक्षधर संघसंस्थाहरु नामाकरण भएको भोलिपल्टदेखि नै सशक्त आन्दोलनमा उत्रिएका छन्। संविधानले नै किटान गरेको पहिचानको व्यवस्थालाई नामेट पारेर भारतीय नाम कौशिक ऋषिको गोत्रबाट प्रदेशको नाम राखेको भन्दै प्रदेश सरकारको चर्को आलोचना गर्दै भइरहेको आन्दोलन ३ महिना नाघिसकेको छ। आन्दोलनको क्रममा ताप्लेजुङका पहिचानबादी नेता पदम लिम्बु (लाजेहाङ) को प्रहरी आक्रमणमा परी मृत्युसमेत भइसकेको छ।

लाजेहाङको मृत्युपछि थप चर्कँदै गएको पहिचानी आन्दोलनलाई दबाउन प्रदेश सरकारले प्रहरी प्रशासनको आडमा लाठी, बुट, गोली र अस्रुग्यास बर्साउँदै धरपकड गर्ने कार्यलाई अत्यधिक बढाउँदै लगेपछि आन्दोलन थप पेचिलो बन्दै गएको छ। यही सिलसिलालाई जोडेर प्रदेश १ मात्र नभएर सिंगो देश भरी उभौली मनाउँदा पहिचानको पक्षमा आन्दोलन गर्दै मनाउने निर्णय भएको यायोक्खा केन्द्रीय सदस्य दिपक किराँती बताउँछन्।

पहिचानको पक्षमा वकालत गर्दै मनाइएको उभौलीमा प्रगतिशील लेखकहरु खगेन्द्र संग्रौला र युग पाठक, प्रा। डा। टंक न्यौपाने, वरिष्ठ पत्रकार भवानी बराल, पूर्व मन्त्री गोपाल किरातीलगायत उपस्थित भएर साथ दिँदै आएका छन्। साकेला उभौली मनाउने क्रममा गाईघाटमा आयोजित कार्यक्रममा युग पाठक र गोपाल किराँती सहभागी भए। प्रदेशका १४ वटै जिल्ला तथा संघीय राजधानी काठमाडौँमा विभिन्न खाले विरोध प्रदर्शन गर्दै शान्तिपूर्ण आन्दोलन गर्दै साकेला उभौली मनाएको छ। ‘कोसी’ नाम खारेज गरी पहिचानको आधारमा प्रदेश १ को नामाकरण गर्न माग गर्दै उभौलीको समापन चौदण्डीगढी नगर यायोक्खाले शनिवार समापन गरेको छ।

त्यसैगरी त्रियुगा, बेलका, कटारी, लिमचुङबुङ, ताप्ली, उयदपुरगढी र रौतामाईले पनि पहिचानको आधारमा प्रदेशको पुनः नामाकरण गर्न माग गर्दै मनाइरहेको उभौली समापन गर्ने क्रम चलिरहेको स्थानीय यायोक्खा समितिहरुले जनाएका छन्। नेपालको संविधान ०७२ ले निदिष्ट गरेको पहिचानको अधिकारलाई सीमित व्यक्ति र दलहरुले संकिर्णता नसाँधी पहिचानको सम्बोधन गर्न माग गर्दै उनीहरुले अन्यथा दीर्घकालीन द्वन्द्व सुरु हुने र यसको भागीदार स्वयं प्रदेश सरकार र दलहरु हुनुपर्ने चेतावनी पनि दिएका छन्।

सम्बन्धित खबर