२०८१ असोज ४, शुक्रवार , ०५:३१:३७ बजे

Sajhamanch
'

कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिपको उपाधी गाइघाटका चौधरीलाई

शनिवार, जेठ २७, २०८०
बिर्तामोड । दोस्रो मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिपको उपाधी दिलिपकुमार चौधरीले जितेका छन् । कोशी प्रदेश खेलकुद विकास बोर्डको मुख्य आयोजना तथा बडी ग्यारेज बिर्तामोडको संयोजनमा सम्पन्न च्याम्पियनसिपको शुक्रबार भएको प्रतिश्पर्धामा ओभरलमा ६५ किलो तौल समुहका चौधरीले उपाधि हात पारेका हुन् । उनले नगद ३ लाख ११ हजार १११ रुपैयाँ हात पारे । उनी डिएनपी फिटनेस गाइघाटबाट सहभागी भएका हुन् ।
यस्तै प्रतियोगितामा ७० किलो तौल समुहबाट केज टोटल फिट्नेस इलामका सनम लिम्बु दोश्रो, ७० किलो तौल समुहबाटै धरान फिट्नेसका संदिप गिरी तेश्रो, ५५ किलो तौल समुहबाट उर्लाबारीका धर्मराज खापुङ चौँथो र ७० किलो तौल समुहबाट नेपाल पुलिस क्लब हेटौँडाका अजय मल्लिक पाँचौ भएका छन् । उनीहरुले क्रमश २ लाख ५० हजार, १ लाख ५० हजार, १ लाख र ७५ हजार रुपैयाँका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् ।
तौल समुह अन्तर्गत ५५ किलौ तौल समुहमा धर्मराज खापुङ पहिलो, प्रवित राजवंशी दोश्रो र दिवश श्रेष्ठ तेश्रो भए । यस्तै ६० किलो तौल समुहमा अजय मल्लिक पहिलो, विनोद कार्की दोश्रो र युवराज बस्नेत तेश्रो भएका छन् । यसै गरी ६५ किलो तौल समुहमा दिलिपकुमार चौधरी पहिलो, हर्कबहादुर राई दोश्रो र ओशन कार्की तेश्रो भए। यस्तै ७० किलो तौल समुहमा सनम लिम्बु पहिलो, मदन कुमार योङहाङ दोश्रो र सागर राई तेश्रो भएका छन् ।
७० किलो माथिको तौल समुहमा भने २ जना मात्रै सहभागी थिए । शुक्रवार सम्पन्न प्रिजजिङमा ३ जना सहभागी भए पनि एकजना खेलाडी कोशी प्रदेश बाहिरको भएको कारण आउट भएका थिए । बाँकी रहेका २ जनामध्ये संदिप गिरी पहिलो र प्रशिद्व भक्त राई दोश्रो भए ।
विजेताहरुलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्ले, सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्र गिरी, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारी, आयोजक समितिका अध्यक्ष अर्जुन मैनाली, कार्यक्रम संयोजक राम दाहाल लगायतले पुरस्कार प्रदान गर्नु भयो । समुहगत रुपमा दोस्रो र तेस्रो हुने खेलाडीलाई पनि जनही १० हजार र ५ हजार रुपैंयाँ पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगिता आयोजकले सोचेअनुरुप भव्य र सभ्य तरिकाले सम्पन्न भएको सचिव राजेश गिरीले जानकारी दिनु भयो । गत वर्ष सम्पन्न प्रथम मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिपको उपाधी विकास तामाङले जितेका थिए ।

सम्बन्धित खबर