२०८१ असोज ३, बिहिवार , ०२:३८:२५ बजे

Sajhamanch
'

कमल नगर अस्पताललाई दाताको स्वास्थ्य साम्रग्री उपहारमा

बिहिवार, जेठ ४, २०८०

कमल । कोशी प्रदेश सरकारका स्वस्थ्य मन्त्री निर्मला लिम्बूले हरेक नागरिकलाई स्वस्थ र शुद्ध पिउने पानी सहज रुपमा उपलब्ध गराउनु पर्ने सरकारको दायित्व भएको बताएकी छन् ।

हेल्पिङ्ग हेण्ड फर रिलिफ एण्ड डेभलपमेन्टको आर्थिक सहयोग र वर्क फर नेपालको व्यवस्थापनमा झापाको कमल गाउँपालिकास्थित कमल नगर अस्पताललाई उपहार स्वरुप स्वास्थ्य सामग्री र खानेपानी प्लान्ट हस्तान्तरण पछि आफ्नो मन्तव्यका क्रममा मन्त्री लिम्बूले सो कुरा बताएकी हुन् ।

नेपालको संविधानमा नै हरेक नागरिकले स्वास्थ्य सेवा र शुद्ध पिउने पानी पाउनु पर्ने भन्ने उल्लेख गरिएको छ । यसका लागि प्रदेश सरकार लागिपरेको मन्त्री लिम्बूको दावी थियो ।

ती दुवै संस्थाको आर्थिक सहयोग र व्यवस्थापनमा झापाका तीनवटा नगर अस्पताललाई स्वस्थ्य सामग्री प्रदान गरिएको हो । कमल गाउँपालिका, बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाका अस्पताललाई १ करोड ५० लाख मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

हेल्पिङ्ग हेण्ड फर रिलिफ एण्ड डेभलपमेन्टले विगत ६ वर्षदेखि ७ वटा जिल्लामा टुहुरा बालबालिकाको शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको छ । सामुदायिक विद्यालयमा शुद्ध पिउने पानीको फिल्टरेशन प्लान्ट जडान, सिप विकास सम्बन्धी तालिम र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको सो संस्थाले पालिकाका अस्पताललाई स्वास्थ्य साम्रग्री उपहारस्वरुप प्रदान गरेको हो ।

ती स्वास्थ्य सामग्रीले पालिकाका बासिन्दालाई स्वास्थ्य उपचारमा ठूलो सहयोग पुग्ने हेल्पिङ्ग हेण्डका प्रोग्राम मेनेजर जीबन पोखरेल बताउँछन् । अस्पताललाई प्रदान गरिएका स्वस्थ्य सामग्रीहरुमा ईलेक्ट्रोनिक बेड, भिडियो एक्स–रे मेसिन, सुक्ष्मदर्शक यन्त्र, वाफ लगाउने मेसिन लगायत २०० भन्दा बढी प्रकारका सामग्री रहेका छन् ।

वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव केशव भण्डारीले सञ्चालन गरेका थिए । कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले शाब्दिक स्वगत गरेका थिए ।

सम्बन्धित खबर