२०८१ असोज ४, शुक्रवार , ०२:५६:४५ बजे

Sajhamanch
'

झापामा दोस्रोपटक बडी बिल्डिङ च्याम्पियनसिप गरिँदै

शनिवार, वैशाख ९, २०८०

बिर्तामोड। झापाको बिर्तामोडमा यही जेठ १२ र १३ गते कोशी प्रदेशस्तरीय दोस्रो बडी बिल्डिङ च्याम्पियनसिप गरिने भएको छ ।

अघिल्लो वर्षको सफलताबाट उत्साहित मि. कन्चनजंघा बडी बिल्डिङ च्याम्पियनसिपले दोस्रो संस्करण गर्न लागेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ।

कोशी प्रदेशमा स्थायी बसोबास रहेका खेलाडीहरु प्रतियोगितामा सहभागी हुन पाउने व्यवस्था छ। योसँगै विभिन्न टाइटल विजयीहरुले पनि यो प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्ने जनाइएको छ । अघिल्लो वर्ष यो अवसर दिइएको थिएन ।

प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ केजी तौल समूहमा प्रतिष्पर्धा गराउने कार्यक्रम संयोजक राम दाहालले जानकारी दिए । बिर्तामोडमा रहेको बडी ग्यारेजले प्रतियोगिताको माध्यमबाट व्यायामप्रति युवा आकर्षण बढाउन र अभिरुचि जगाउन यसको थालनी गरेको दाहालले बताए । प्रतियोगितालाई आगामी दिनमा राष्ट्रियस्तरको बनाउने योजना रहेको उनको भनाई छ ।

प्रतियोगितामा प्रथम हुनेलाई तीन लाख ११ हजार १११ रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक समितिका अध्यक्ष अर्जुन मैनालीले बताए । अघिल्लो वर्ष पुरस्कार राशि तीन लाख रुपैयाँ थियो ।

अध्यक्ष मैनालीका अनुसार मि. कन्चनजंघा बडी बिल्डिङ च्याम्पियनसिपले दोस्रो संस्करणमा दोस्रो हुनेले दुई लाख ५० हजार रुपैयाँ, तेस्रो हुनेले एक लाख ५० हजार रुपैयाँ, चौथो हुनेले एक लाख रुपैयाँ र पाँचौं हुनेले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । पाँच फरक फरक तौल समूहमा प्रतियोगिता गरिएकोले पाँचौंसम्म पुरस्कार राखिएको मैनालीले प्रष्ट पारेका छन् ।

दोस्रो संस्करणमा करिब ६० जना प्रतियोगी खेलाडीहरु सहभागी हुने आयोजकले अपेक्षा राखेको छ । यो पटक खेलाडीहरुलाई आवतजावत भाडा र बिर्तामोडमा लजिङफुडिङको ब्यवस्था आयोजकले नै गर्ने एवम् प्रतियोगितालाई थप उत्कृष्ट बनाउने योजना रहेको अध्यक्ष मैनालीको भनाई छ ।

आयोजक समितिका सचिव राजेश गिरीले सञ्चालन गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यो प्रतियोगिता उपत्यका बाहिर सबैभन्दा ठूलो धनराशि पुरस्कार भएको प्रतियोगिता हुनेछ ।

सम्बन्धित खबर