२०८१ मंसिर १३, बिहिवार , ०६:२०:३४ बजे

Sajhamanch
'

भद्रपुरमा आदिवासी राजवंशी संग्राहालयको शिलान्यास

आइतवार, वैशाख ३, २०८०

भद्रपुर । सिरूवा पर्वको अवसर पारेर भद्रपुर ६ महेशपुरमा आदिवासी राजवंशी संग्राहालय भवनको शिलान्यास गरिएको छ ।

पूर्वी तराइका आदिवासी राजवंशी समुदायको सम्पूर्ण पहिचान झल्कने गरी ७ कठ्ठा क्षेत्रफलमा ५ करोडभन्दा बढीको लगानीमा संग्राहालय निर्माण गर्ने लक्ष्यका साथ भवनको शिलान्यास गरिएको जनाइएको छ ।

भद्रपुर नगरपालिकाले प्रदान गरेको २० लाख रूपैयाँबाट पहिलो चरणको काम थालिएको संग्राहालयको शिलान्यास भद्रपुरका नगरप्रमुख गणेश पोखरेलले गरेका छन् । भद्रपुर नगरपालिका भित्र राजवंशी समुदायका विभिन्न संस्थाको साझा नेतृत्व गरिरहेको आदिवासी राजवंशी भाषिक साँस्कृतिक विकास प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा पहिलो चरणको निर्माण कार्य थालनी गर्न लागिएको जानकारी दिइएको थियो ।

सबै संस्थाको साझा नेतृत्व गरिरहेका आदिवासी राजवंशी साँस्कृतिक विकास प्रतिष्ठानका अध्यक्ष तुलारामसिंह राजवंशीको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा विविध साँस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष राजवंशीले संग्राहालयमा राजवंशी जातिको पहिचानका रूपमा रहेका तर वर्तमानमा लोप भइसकेका, लोप हुन लागेका चुवारी घर, वंगला घरदेखि भेषभुषा, रहनसहन, संस्कार संस्कृतिसम्मका विविध पहिचान संग्रहित हुने जानकारी दिए ।

उनका अनुसार कोशी प्रदेशकै आकर्षक संग्राहालय बनाउन ५ करोड बढी खर्च लाग्नेछ भने स्रोतका रूपमा स्थानीय, प्रदेश र संघीय सरकारदेखि विभिन्न दाताबाट जुटाएर ५ वर्षभित्र संग्राहालय निर्माण सम्पन्न गरिने छ ।

सो कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ, भद्रपुर १ का वडाध्यक्ष रामप्रसाद अधिकारी, ६ का वडाध्यक्ष रतिया राजवंशी, ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, ८ का वडाध्यक्ष गौरव सुब्बा मनोज लगायतले धारणा राख्दै संग्राहालय नगरको गहना भएकोले निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता गरेका छन् ।

सम्बन्धित खबर