२०८१ मंसिर १४, शुक्रवार , ०५:१३:४३ बजे

Sajhamanch
'

स्ववियू निर्वाचन : झापाका क्याम्पसमा कहाँ कति प्रतिशत मत खस्यो

आइतवार, चैत ५, २०७९

झापा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा ६७ प्रतिशत मतदान भएको निर्वाचन परिचालन समितिले जानकारी दिएको छ । ३ हजार ११४ जना मतदाता रहेको मेची क्याम्पसमा २ हजार ९४ विद्यार्थीले मतदान गरेको निर्वाचन समितिले जानकारी दिएको हो ।

आइतबार झापाका १० वटा क्याम्पसमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको मतदानमा ५२ प्रतिशतदेखि ९७ प्रतिशतसम्म मत खसेको जनाइएको छ । सबैभन्दा बढी ९७ प्रतिशत गौरादह कृषि क्याम्पस गौरादहमा खसेको छ भने सबैभन्दा कम ५२ प्रतिशत मत कनकाई आदर्श क्याम्पस बिर्तामोडमा खसेको जनाइएको छ ।

कनकाई आदर्श क्याम्पसमा कूल १ हजार ८६१ मतदाता रहेकोमा ९६९ मत खसेको हो । त्यस्तै गौरादह कृषि क्याम्पसमा कूल २३६ मतदाता रहेकोमा २२९ मत खसेको जनाइएको छ ।

त्यस्तै साविक मेची अञ्चलको पुरानो र ठूलो क्याम्पस मेची बहुमुखी क्याम्पस भद्रपुरमा ६७ प्रतिशत मत खसेको छ । जम्मा ३ हजार ११३ मतदाता रहेको सो क्याम्पसमा २ हजार ९४ मत खसेको हो ।

त्यस्तै कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा कूल १ हजार ३७१ मतदातामध्ये ८३२ अर्थात ६१ प्रतिशत, शनिश्चरे क्याम्पसमा कूल ५८६ मतदातामध्ये ४२३ अर्थात ७४ प्रतिशत मतदान भएको छ ।

यस्तै, सितारमेश क्याम्पस बुद्धशान्तिमा कूल ४७९ मतदातामध्ये ३८८ अर्थात ८१ प्रतिशत, त्रिदेव क्याम्पस चारआलीमा कूल १ हजार ४ मतदातामध्ये ६५४ अर्थात ६५ प्रतिशत, गौरीगञ्ज क्याम्पसमा कूल २०० मतदातामध्ये १८६ अर्थात ९३ प्रतिशत मत खसेको छ ।

यसैगरी, दमक बहुमुखी क्याम्पसमा कूल ३ हजार ३०८ मतदातामध्ये २ हजार ५८ मत अर्थात ६२ प्रतिशत र इन्द्रचन्द्र क्याम्पस बिर्तामोडमा कूल १ हजार ५०८ मतदातामध्ये ८९२ अर्थात ५९ प्रतिशत मत खसेको हो ।

आज चुनाव भएका झापाका क्याम्पसहरुमा शान्तिपूर्णरुपमा स्ववियू निर्वाचन सम्पन्न भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए । आज जिल्लाका १० वटा क्याम्पसमा स्ववियू निर्वाचन भएको थियो ।

जिल्लाका १३ वटा क्याम्पसमध्ये काँकडभिट्टा बहुमुखी क्याम्पसमा चैत १० गतेका लागि निर्वाचन सारिएको छ भने गरामनी क्याम्पसमा स्ववियु निर्विरोध भएको घोषणा गरिएको छ । गौरादह बहुमुखी क्याम्पसमा निर्वाचन स्थगित गरिएको छ । अर्को निर्वाचनको टुंगो लागिसकेको छैन ।

गौरादह कृषि क्याम्पसको मतगणना सम्पन्न भइसकेको छ । सो क्याम्पसमा बिक्रम तिवारी नेतृत्वको एमाले निकट अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ ।

मेची बहुमुखी क्याम्पसमा मतदान सम्पन्न भइसकेपछि सर्वपक्षीय बैठक भइरहेको अनेरास्ववियु झापाका अध्यक्ष रोशन लामाले जानकारी दिएका छन् । मतगणनाका समयमा विवाद उत्पन्न नहोस् भन्ने उद्देश्यले सर्वपक्षीय छलफल गरी नीति बनाउन लागिएको उनको भनाई छ ।

सम्बन्धित खबर