झापा । जनकल्याण प्रतिष्ठान एकल विद्यालय अभियान नेपाल झापा जिल्ला समितिले शनिबार आफ्नो २७औं स्थापना दिवस विविध रचनात्मक कार्यक्रम गरेर मनाएको छ ।
प्रतिष्ठानका जिल्ला अध्यक्ष शंकर भट्टराईको अध्यक्षता तथा स्थानीय अग्रज समाजसेवी शंकर सुवेदीको प्रमुख आतिथ्यमा अर्जुनधारा नगरपालिका वडा नं. ६ स्थित पुष्पलाल चोकमा प्रभातफेरी, सांस्कृतिक कार्यक्रम तथा विचार गोष्ठीसहित स्थापना दिवस मनाइएको हो ।
स्थापना दिवसका अवसरमा गरिएको सांस्कृतिक कार्यक्रममा एकल विद्यालयमा अध्ययनरत बालबालिकाले प्रतिभा प्रस्तुत गरेका थिए । उनीहरुलाई अर्जुनधारा ४ बिहानीटोलका नारायण भट्टराई र हिमादेवी सिग्देल भट्टराईले आफ्नो तर्फबाट व्यवस्थापन गरिएको पुरस्कार प्रदान गरेका थिए ।
सो कार्यक्रम अन्तरगत विचार गोष्ठीमा कार्यक्रमका प्रमुख अतिथि शंकर सुवेदी, विश्वहिन्दू परिषद् नेपाल झापा जिल्ला समितिका अध्यक्ष होमनाथ ढुङ्गेल, प्रतिष्ठानका जिल्ला सचिव देवेन्द्रकिशोर ढुङ्गाना, हरिओम सत्संग समितिका सोमनाथ सुबेदी, राजनीतिक व्यक्तित्व तथा समाजसेवी रञ्जु प्याकुरेलले आ–आफ्ना धारणा राखेका थिए थिए ।
उनीहरुको मन्तब्यमा हिन्दू धर्म र संस्कृति माथि चारैतिरबाट आक्रमण भइरहेको वर्तमान अवस्थामा अभिभावकमा धार्मिक जागरुकताको अभाव हुन गएमा हाम्रो परिवार र समाज नै बिखण्डन हुने खतरा औंल्याउँदै समाज निर्माणमा संस्कारित परिवारको आवश्यकतामा जोड थियो ।
प्रतिष्ठानका खिनामाया फूयालद्वारा संयोजन तथा सञ्चालित कार्यक्रममा प्रतिष्ठानका सम्भाग प्रमुख योगमाया न्यौपाने, विश्व हिन्दू परिषद् नेपाल सम्भाग प्रमुख सितादेवी ढुङ्गेलसहित जिल्लाका पूर्णकालीन कार्यकर्ताहरुको उपस्थिति थियो ।