झापा । देशभरका १५ जिल्लामा आज बिहीबारदेखि हात्तीपाइले रोग विरुद्धको औषधि वितरण शुरु भएको छ । अभियान सफल बनाउन झापाका सबै स्थानीय तह, स्वास्थ्य शाखाहरुले सचेतनामूलक कार्यक्रमसहित औषधि सेवन शुरु गरेका छन् ।
अभियानलाई सफल बनाउन बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव परिसरमा पनि औषधि खुवाउन शुरु गरिएको छ । बिहीबार पहिलो दिन नै ११७ जनाभन्दा धेरैले औषधि सेवन गरेको अनारमनी स्वास्थ्य शाखाका अहेव ख्यामप्रसाद कडरियाले जानकारी दिएका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघका कार्यालय सचिव राजु गौतमसहित महोत्सवमा सहभागीले औषधि सेवन गरेको बताइएको छ । पहिलो दिन भएपनि सर्वसाधारणले रुचि राखेर नै औषधि सेवन गरेको अर्का अहेव छवि ढुङ्गानाको भनाई छ ।
महोत्सवमा सहभागीमध्ये धेरैलाई औषधि सेवन गराउने लक्ष्य रहेको र शुक्रबारबाट साँझ ७ बजेसम्म महोत्सव स्थलमा बसेर औषधि सेवन गराउने तयारी गरिएको अहेव ढुङ्गानाले बताएका छन् ।
यसैबीच, आजबाट शुरु भएको हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरी सरकारी अभियान सफल बनाउन नेपाली कांग्रेस झापाले आम जनसमुदायमा आह्वान गरेको छ ।
सन् २०३० सम्म हात्तीपाइले रोग नियन्त्रण गर्ने लक्ष्य राखेर नेपाल सरकारले जिल्ला–जिल्लाका जनस्वास्थ्य एवं मातहत इकाइमार्फत तालिम प्राप्त जनशक्ति आजैबाट घर–घरमा परिचालन गरेको छ ।
पार्टीका जिल्ला सचिव कृष्ण हुमागाईद्वारा हस्ताक्षरित अपिल मार्फत यस्तो आह्वान गरिएको हो । सबै जनताले औषधि सेवन गरेमा ६ वर्षमा निवारण हुने हात्तीपाइले रोग ११ वर्षमा समेत असफल भएको अपिलमा उल्लेख छ ।
१२औं चरणको औषधि सेवन गर्ने/गराउने कार्यमा पार्टीका सबै तहका नेता/कार्यकर्ता परिचालित भई आम जनसमुदायमा सचेतना/जागरण गराउने कार्यमा लाग्न अपीलमा भनिएको छ ।