२०८१ पौष १९, शुक्रवार , ०९:१२:५९ बजे

Sajhamanch
'

क्रिकेट विश्वकप लिग–२ मा नेपालको पहिलो क्लिन स्विप

बुधवार, फागुन १०, २०७९

काठमाडौँ । नेपाल घरेलु मैदानमा क्रिकेट विश्वकप लिग–२ का सबै चार खेल जितेर ‘क्लिन स्विप’ गर्ने पहिलो टोली भएको छ । रोहित पौडेलले सानदार कप्तानी इनिङ्स खेल्दै करण केसीसँग कीर्तिमानी साझेदारी गरेपछि नेपालले मंगलबार च्याम्पियन टोली स्कटल्यान्डलाई २ विकेटले पराजित गर्‍यो ।

रोहितले अविजित ९५ रन बनाएपछि नेपालले भरिभराउ दर्शकबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २१३ रनको लक्ष्य ४४ दशमलव १ ओभरमै पूरा गर्‍यो । त्यसक्रममा रोहितले करण केसीसँग ७५ रनको अविजित साझेदारी गरे । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नवौं विकेटका लागि नेपालको यो सबैभन्दा ठूलो साझेदारी हो ।

नेपालले शृंखलामा खेलेका सबै ४ खेल जितेको हो । यसअघिका खेलमा नामिबियालाई २ र ३ विकेट तथा स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो । लिग–२ मा यसअघि कुनै घरेलु टोलीले सबै चार खेल जितेका थिएनन् । सन् २०२० को फेब्रुअरीमा ओमानले काठमाडौं आएर नेपाल र अमेरिका विरुद्ध २–२ गरी लिग–२ का सबै चार खेल जितेको थियो ।

यस जितले नेपालको एक दिवसीय मान्यता जोगाइरहने आशा जीवितै राखेको छ । नेपाल २८ खेलमा २६ अंकसाथ सात राष्ट्र सहभागी लिग–२ मा अंक तालिकाको छैटौं स्थानमा छ । एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाइराख्न नेपालले अब बाँकी रहेका ५ खेल जित्नुपर्नेछ ।

‘यो नेपालको उत्कृष्टमध्ये एक जित हो । लगातार जित्यौं भनेर धेरै उत्साही हुन जरुरी छैन । हामीले जति खेल खेल्न बाँकी छन्, ती सबै फाइनल हुन्,’ प्लेयर अफ दि म्याच रोहितले भने । भारतका मोन्टी देसाई नयाँ प्रशिक्षकका रूपमा आएपछि नेपालले सबै खेल जितेको छ । उनले टिमभित्र विश्वासको वातावरण बन्दै गइरहेको बताए ।

जितका लागि ४ रन चाहिने अवस्थामा रोहितले फाइन लेगमा चौका प्रहार गरेका थिए । ‘४ रन चाहिने अवस्थामा करण केसी दाइसँग १–१ रन लिएर खेलौं भन्ने कुराकानी भइरहेको थियो । बल खुट्टामा आएपछि चौका प्रहार गरें, त्यसले राहतसँगै रिल्याक्स पनि बनायो’ रोहितले भने, ‘५–६ विकेट जाँदासम्म पनि आस थियो । त्यसपछि गाह्रो भए पनि करण दाइ आएपछि साझेदारी बन्दै गर्दा जितिन्छ भन्ने विश्वास भयो ।’

सातौं ओभरमा १९–२ को अवस्थामा ब्याटिङ गर्न आएका रोहितले १०१ बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरे । करणले अविजित ३१ रन बनाउँदा ३७ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे ।

नेपालको सुरुआत राम्रो थिएन । कुशल भुर्तेल १ रनमै आउट भए । अर्का ओपनर आसिफ शेखले १२ रन बनाए । ज्ञानेन्द्र मल्लले २१ रन जोडे । रोहित एउटा छेउमा टिकिरहे पनि अर्को छेउबाट निरन्तर विकेट झरिरह्यो ।

कुशल मल्लले एउटा लामो छक्का प्रहार गरे पनि उनी धेरैबेर टिकेनन् । उनले २८ बल खेल्दै १ चौका प्रहार गर्दै १७ रन बनाए । सन्दीप जोरा १, दीपेन्द्रसिंह ऐरी ७, सोमपाल कामी २ र सन्दीप लामिछाने ९ रनमा आउट भए ।

स्कटल्यान्डका प्रशिक्षक सिन बर्गरले घरेलु मैदानमा खेलिरहेकाले नेपालले जोसका साथ खेलेर जित हात पारेको बताए । स्कटल्यान्ड यस शृंखलाको पहिलो खेलमा नामिबियामाथि जित हात पार्दै लिग–२ को विजेता बनिसकेको थियो । टोलीले सबै ३६ खेलमा ५० अंक जोड्यो । आईसीसीका डेभलपमेन्ट प्रमुख विलियम ग्लेनराइटले स्कटल्यान्डलाई विजेता ट्रफी प्रदान गरेका थिए ।

सम्बन्धित खबर