२०८१ पौष ७, आइतवार , ०४:४०:३४ बजे

Sajhamanch
'

प्रदेशको नामाकरण चाँडै हुन्छः मुख्यमन्त्री कार्की

शनिवार, माघ २१, २०७९

झापामा अग्रज पत्रकारहरु सम्मानित तथा अभिनन्दित

बिर्तामोड । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश १ को नामाकरण चाँडै हुने बताएका छन् । शनिबार बिर्तामोडमा प्रेस चौतारी नेपालको २५औँ स्थापना दिवसको अवरसरमा आयोजित रजत वर्ष समारोहका प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले यस्तो कुरा बताएका हुन् ।

‘प्रदेश १ को नामाकरण चाँडै हुन्छ’ मुख्यमन्त्री कार्कीले भने– ‘सबै दलको सहमतिमा नामाकरण गरिनेछ । यदि सहमति हुन सकेन भने पनि संविधान र कानुन बमोजिम प्रदेशको नामाकरण हुन्छ ।’

पत्रकारको वृतिविकास, हित र सुरक्षाका लागि प्रदेश सरकारले कार्यदल बनाएर काम गर्ने उनको भनाई छ । अघिल्लो सरकारले रोकेको पत्रकार सुरक्षा कोष र प्रादेशिक सञ्चार प्रतिष्ठान कानुन बनाएर चाँडै सुचारु गर्नेसमेत मुख्यमन्त्री कार्कीको भनाई छ ।

स्थापना दिवसको अवसरमा प्रेस चौतारी झापाका प्रथम अध्यक्ष नेत्रप्रसाद पाठक तथा ५ जना अग्रज पत्रकारहरु नकुल काजी, माधव विद्रोही, गोविन्दचन्द्र क्षेत्री, केशव आचार्यलाई सम्मान गरिएको छ । त्यस्तै स्व.माया पकुवाललाई मरणोपरान्त सम्मान गरिएको छ ।

प्रथम अध्यक्ष पाठकलाई संगठनले २५ हजार नगदसहित अभिनन्दित गरेको हो भने अग्रज पत्रकारहरुलाई सम्मानपत्रका साथ दोसल्ला ओडाइएको थियो । कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री कार्की, एमाले झापाका अध्यक्ष दिपक कार्की, एमाले प्रदेश कमिटीका सदस्य तथा प्रदेश सांसद एकराज कार्की, झापाका प्रमुअ जिल्ला अधिकारी शिवराम पोखरेललगायतले उहाँहरुलाई सम्मान हस्तान्तरण गरेका थिए ।

अभिनन्दन तथा सम्मान कार्यक्रमको सञ्चालन प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज सन्तोष आचार्यले गरेका थिए । अभिनन्दन र सम्मानपत्रहरुको वाचन प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य, झापाका पूर्व अध्यक्ष तथा नेकपा एमाले झापाका प्रचार विभाग प्रमुख गोपाल काफ्लेले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री कार्की, सम्मानित व्यक्तित्व गोविन्दचन्द्र क्षेत्री, पे्रस चौतारी नेपालको प्रदेश इन्चार्ज गणेश पोखरेल, प्रेस युनियनका केन्द्रीय सचिव रेजिना गौतम, प्रेस सेन्टरका केन्द्रीय सदस्य लीलाराज झापाली, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, फोनिज झापाका अध्यक्ष भूमिका फ्याक लिम्बू लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षता सम्पन्न कार्यक्रमको स्वागत सचिव प्रकाश पौडेलले र सञ्चालन उपाध्यक्ष एवम् कार्यक्रम संयोजक प्रदीप परियारले गरेका थिए ।

सम्बन्धित खबर