२०८१ असोज ४, शुक्रवार , ०८:१४:५१ बजे

Sajhamanch
'

सिम्रिक साकोसको सेवाकेन्द्र पाँचथरको फिदिममा पनि

बिहिवार, मंसिर २९, २०७९

फिदिम । पाँचथर जिल्लाको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले साना साना व्यवसायीहरुसँग छरिएर रहेको रकमलाई एकीकृत गरी आर्थिक टेवा पुर्याउने सहकारी अभियानको उद्देश्यप्रति सबै एकाकार हुनुपर्ने बताएका छन् ।

झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले फिदिममा स्थापना गरेको सेवा केन्द्र उद्घाटन समारोहमा नगर प्रमुख काफ्लेको यस्तो भनाई आएको हो ।

सहकारीको माध्यमबाट बचत गर्ने बानीको विकास हुने गरेको स्मरण गर्दै नगरप्रमुख काफ्लेले सिम्रिक साकोसले सञ्चालन गरेको सदस्य राहत नीतिले सदस्यप्रति अभिभावकत्व सिर्जना गरेको धारणा राखेका थिए । सिम्रिक साकोसले नगरपालिकाका बासिन्दाहरुको जीविकोपार्जनमा सहयोग पुर्याउने कार्यक्रमहरु सञ्चालन गरेमा फिदिम नगरपालिका मार्फत यथेष्ट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

सिम्रिक साकोसले मंसिर २४ गते शनिबार फिदिममा ४८औं सेवा केन्द्र उद्घाटन गरेको हो । पाँचथर जिल्लाभर कार्यक्षेत्र रहेको एउटा सहकारीसँग सिम्रिकले एकीकरण गरेपछि ४८औं सेवाकेन्द्रका रुपमा कार्यालय सञ्चालनमा ल्याइएको हो ।

संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा भएको सेवा केन्द्र उद्घाटन कार्यक्रममा पाँचथर जिल्ला सहकारी संघका अध्यक्ष रेणुप्रसाद ओझाले शुभकामना मन्तब्य राखेका थिए । आफ्नो मन्तब्यमा अध्यक्ष ओझाले पाँचथर जिल्लाको सहकारी इतिहासमा यस किसिमको समुद्घाटन कार्य सम्भवतः पहिलोपटक भएको बताउँदै जिल्ला नेतृत्व तहबाट सिम्रिकलाई सदैव सहयोग गर्ने विश्वास दिलाए ।

सिम्रिक साकोस जोखिम ब्यवस्थापन विभाग प्रमुख प्रेम बस्नेत (विजय)ले सञ्चालन गरेका सेवा केन्द्र उद्घाटन कार्यक्रममा आमन्त्रित अतिथि र सहभागीहरुलाई सचिव इन्द्रबहादुर कार्कीले शाब्दिक स्वागत गरेका थिए ।

सेवा केन्द्र समुद्घाटन समारोहमा संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले फिदिममा सेवा केन्द्र खुलेसँगै सिम्रिक साकोसले प्रदेश १ का चारवटा जिल्लामा आफूलाई विस्तार गरेको जानकारी दिए ।

संस्थाले गत महिनासम्म गरेको वित्तीय कारोबारहरुको झलक प्रस्तुत गर्दै कार्यकारी प्रमुख बस्नेतले संस्थाले सदस्यमाझ प्रवाह गरिरहेको सुविधाबारे प्रष्ट पारेका थिए ।

सम्बन्धित खबर